सानेपा(ललितपुर),५ चैत्र । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेकोबैठकले सांसद राधेश्याम अधिकारीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति र केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा नियमावली मस्यौदा समिति गठन गरेको छ ।
कांग्रेसको मंगलबारको बैठकले सोमबार गठन भएको अनुशासन समितिलाई पनि पूर्णता दिएको छ । सो समितिमा केन्द्रीय सदस्य धनराज गुरुड. र उमाकान्त चौधरीलाई सर्वसम्मतिले चयन गरेको छ ।
बैठकल संयोजक राधेश्याम अधिकारीे रहेको केन्द्रीय निर्वाचन समितिका सदस्यहरुमा गोपालकृष्ण घिमिरे,खम्मबहादुर खाती, सिताराम के।सी र एकराज पोखरेललाई सर्वसम्मतिले चयन गरेको छ भने केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको नियमावली मस्यौदा समितिका सदस्यहरुमा मीन विश्वकर्मा,जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेललाई सर्वसम्मतिले चयन गरेको छ ।
सोमबार र मंगलबार चलेको कांग्रेसको केन्द्रीय समितिको बैठकले विखण्डनको मार्ग परित्याग गरी मुलुकको अखण्डता स्वीकार गरेर संविधानभित्रबाट समाधानमा पुग्न चाहने सीके राउत नेतृत्वमा रहेको नवगठित नेपाल जनमत पार्टीलाई स्वागत गरिरहँदा समाधानको विधिका बारे रहेको गम्भीर विरोधाभासलाई सुस्पष्ट गर्न बैठक सरकार समक्ष माग गरेको छ । कांग्रेसले सम्झौताको दुई साता पुग्दासम्म ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या नगरिनु अत्यन्तै आपत्तिजनक मानेको छ । कांग्रेसले तराई–मधेश लगायत मुलुकको सबै भू–भागका आम नेपालीको भावना अविभाज्य नेपाल रहेको तथ्य पनि सरकार र सबै राजनीतिक दललाई स्मरण गराएको छ ।
कांग्रसेले नेत्रबिक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको मार्ग परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन बैठकले अपिल गरेको छ । उसले निषेधको मार्गबाट होइन वार्ताको माध्यमबाट सो समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न सरकारसमक्ष आग्रह गरेको छ । दशक लामो हिंसाबाट जर्जर भएको मुलुकले भर्खरै मात्र शान्ति प्राप्त गरेको स्मरण गर्दै बैठकले सत्तारुढ र विद्रोही दुबै नेकपालाई नागरिकको जीवनप्रति गम्भीर बन्न सचेत गराएको छ ।
नेपाली कांग्रेसले राष्ट्रिय संवेदनशीलताका विषयमा कुनै पनि महत्वपूर्ण निर्णय गर्नु अघि र पछि पनि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्म अनुरुपको अभ्यासलाई वर्तमान सरकारले त्याग गरिरहेको विषयप्रति गम्भीर आपत्ति प्रकट गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको पनि छ ।
नेपाली कांग्रेसले मुलुकभर अत्यन्त हर्षोल्हासका साथ मनाइने होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटोतर्फ लैजान हामी सबैलाई प्रेरित गरोस् भन्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभ–कामना व्यक्त गरेको छ ।


















