Prakash Adhikari September 4, 2019

बेइजिड.(चीन),१८ भाद्र(बीबीसी) । विशाल चिनियाँ प्रविधि कम्पनी ह्वावेईले अमेरिका सरकारले आफ्नो व्यापार बिगार्न सबै उपाय अपनाएको आरोप लगाएको छ।

अमेरिकाले आफ्नो सञ्जालमा हस्तक्षेप गर्न साइबर आक्रमण गरेको र आफ्ना कर्मचारीलाई धम्काएको आरोप मङ्गलवार ह्वावेईले एउटा विज्ञप्तिमा लगाएको छ।

अमेरिका र चीनको द्वन्द्वमा चेपुवमा परेको सो कम्पनीलाई अमेरिकाले गत वर्ष कालोसूचीमा राखेको थियो।

उसले आफ्ना आरोप पुष्टि गर्ने कुनै प्रमाण भने दिएको छैन।


अमेरिकाले आफ्ना कर्मचारीलाई अवैधानिक रूपमा हिरासतमा राखेको, आन्तरिक सूचना प्रणालीभित्र छिर्न साइबर आक्रमण गरेको र एफबीआईका गुप्तचर कर्मचारीका घरमा पठाएर कम्पनीबारे सूचना सङ्कलन गरेको आरोप विज्ञप्तिमा छ।

“ह्वावेईलाई हतोत्साही बनाउन र उद्योग क्षेत्रमा ह्वावेईको नेतृत्व नियन्त्रण गर्न अमेरिका सरकारको हानिकारक प्रयासको हामी निन्दा गर्छौँ,” ह्वावेईले भनेको छ।

अमेरिकाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

ह्वावेईले स्मार्टफोन क्यामराको पेटन्ट चोरी गरेको आरोपमा अमेरिका सरकारले अनुसन्धान गरेको भन्दै वाल स्ट्रीट जर्नलमा एउटा विवरण प्रकाशित भएपछि ह्वावेईले सो विज्ञप्ति निकालेको हो।

अमेरिका र चीनको शक्ति सङ्घर्षमा ह्वावेई पर्ने गरेको छ।

ह्वावेई अमेरिकाको राष्ट्रिय चुनौतीका लागि चुनौती भएको भन्दै अमेरिकाले सो कम्पनीलाई गत मे महिनामा प्रतिबन्ध लगाएको थियो।

ह्वावेईले चीनका लागि जासुसी गर्ने अमेरिकाको दाबी छ। तर सो कम्पनीले भने त्यो आरोपको खण्डन गर्दै आएको छ।

ह्वावेई

Share Now

Leave a comment.