काठमाडौं,९ माघ। राष्ट्रियसभाका १८ सीटका लागि बिहिबार भएको निर्वाचनको नतिजा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टीको गठबन्धनको पक्षमा गएको छ ।
राष्ट्रिय सभाको १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका छन् । संसदमा प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेस र अन्यदलका उम्मेद्वारहरु पराजित भएका छन् । बिहीबारको निर्वाचनपछि राष्ट्रियसभामा नेपाली कांग्रेसका ७ सांसद फागुनमा विस्थापित हुनेछन् ।
राष्ट्रियसभामा प्रदेश एकबाट ३ जना, प्रदेश दुईमा ४, बागमतीमा २, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि बिहीबार मतदान भएको थियो ।
प्रदेश १ बाट नेकपा उम्मेदवारहरु गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित हुनुभएको छ । अछामी दलिततर्फ र गौतम महिला र दाहाल अन्यतर्फबाट उम्मेद्वार बन्नुभएको थियो ।
प्रदेश २ मा नेकपाका तुलसा दाहाल र राधेश्याम पासवान तथा राजपाका मृगेन्द्रसिंह यादव र शेखर सिंह निर्वाचित हुनुभएको छ ।
दाहाल महिला सदस्य र पासवान दलित सदस्यमा निर्वाचित भएका हुनुभएको हो भनेयादव अन्य समूहबाट र सिंह अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहबाट निर्वाचित हुनुभएको हो ।
प्रदेश २ मा सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टीसंग गठबन्धन गरेर २ । २ सीटमा उम्मेदवारी दिएको थियो ।
बागमती प्रदेशमा नेकपाबाट उम्मेदवार बन्नुभएका गंगाकुमारी बेलबासे (महिला)र बेदुराम भुसाल (अन्य समूह)निर्वाचित हुनुभएको छ ।
गण्डकी प्रदेशबाट पनि नेकपाकै नारायणकाजी श्रेष्ठ(अन्य समूह) र भगवती न्यौपाने(महिलामा) विजयी हुनुभएको थियो ।
प्रदेश ५ बाट राष्ट्रियसभामा विमला घिमिरे, जगप्रसाद शर्मा र गोपालप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । उहाँहरु सबै सत्तारुढ नेकपाबाट उम्मेदवार बन्नुभएको थियो ।
कर्णाली प्रदेशबाट नेकपाकै मायाप्रसाद शर्मा र सुमित्रा विसी निर्वाचित हुनुभयो ।
सुदूरपश्चिम प्रदेशमा महिला समूहबाट शारदा भट्ट र अन्य समूहबाट तारामान स्वाँर निर्वाचित हुनुभएको छ ।