काठमाडौं, ९ माघ । सनराइज बैंक लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । माघ ८ गते बसेको बैंकको संचालक समितिले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।
संचालक समितिको निर्णय अनुसार दुइृ संस्थाकाबीचमा प्राप्तिसम्बन्धी सैद्धान्तिक सहमति सम्पन्न भएको छ । सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्कालनियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारणसभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयर वापत स्वीकृत अनुपात अनुसार सनराइज बैंक लिमिटेडको शेयर दिईने छ ।
सनराइज बैंक नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजतपत्र प्राप्त गरि देशभर १ एक ३० बटा शाखा तथा ८ वटा एक्स्टेन्सन काउन्टर भएको बैंक हो भने सिर्जना फाइनान्स लिमिटेड बिराटनगरमा प्रधानकार्यालय रहि मोरङ्ग, सुनसरी र सप्तरी गरि ३ जिल्लामा कार्यक्षेत्र रहेको २१ वटा शाखा भएको फाइनान्स कंम्पनी हो ।
गत पौष मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार सनराइज बैंक लिमिटेडको कूल निक्षेप करिब ८५ अर्ब रुपैयाँ, कर्जा लगानी करिब ७८ अर्ब रुपैयाँ रहेको छ । सोही अवधिमा सिर्जना फाइनान्स लिमिटेडको निक्षेप तथा कर्जा क्रमशःकरिब ७ अर्ब ३१ करोड र करिब ६ अर्ब ३१ करोड रहेको छ । दुवै जोड्दा प्राप्ति पछिको बैंकको निक्षेप करिब ९२ अर्ब ३१ करोड र कर्जा ८४ अर्ब ३१ करोड नाघ्ने जनाइएको छ ।