काठमाडौं, १ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई आत्मसंयमबाट परास्ता गर्न सकिने बताउनु भएको छ ।
नयाँ वर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो ।
कांग्रेस सभापति देउवाले प्राणघातक कोरोना भाइरसबाट विश्वका करीब १८ लाख व्यक्ति संक्रमित र १ लाख भन्दाबढी व्यक्तिको मृत्यु भएको उल्लेख गर्नुभएको छ । उहाँले यसको संक्रमणका परी प्रवासमा रहेका १४ नेपालीले मृत्युवरण गर्नुको ६ सय ६५ जनामा संक्रमित भएको र स्वदेशभित्र पनि १२ जनामा कोरोना संक्रमण देखिएको बताउनु भएको छ ।
उहाँले यो घातक भाइरसविरुद्धको खोप र निश्चित औषधी पत्ता नलागेसम्म आत्मसंयम अर्थात संक्रमण फैलिन नदिन गरिएको लकडाउनको पालना र समदुरी कायम गर्दै उच्च सतर्कता अपनाएर यसलाई परास्त गर्न सकिने उल्लेख गर्नुभएको छ ।
उहाँले कोरोना भाइरसको प्रकोप नियन्त्रणमा आएपछि विश्व सामान्य अवस्थामा फर्कने उल्लेख गर्दै आत्मसंयम, धैर्यता र आपसी विश्वासका माध्यमबाट नेपालीहरुको जीवनस्तर शीघ्र सामान्य अवस्थामा फर्काउन नयाँ वर्ष २०७७ ले प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।



















