धनगढी(कैलाली), १ बैशाख । नेपालमा अर्का एक कोरोनाभाइरसको संक्रमणमा परेका बिरामी भेटिएका छन् ।
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो।
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
ती महिला परिवारसहित वीरगञ्जबाट फर्किएको बताइएको छ । उनलाई एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल पठाइएको बताइएको छ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । उनीहरु सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।
यो नर्याँ घटनासंगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन्।
आइतवार मात्रै बीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन भारतीयमा कोरोना पुष्टि भएको थियो।
नेपालमा कोरोना भेटिएकामध्ये सेती अस्पतालमा ५ जना, बागलुङमा २ जना, वीरगञ्जमा ३ जना र काठमाडौंमा दुईजना उपचाररत रहेका छन्।


















