Prakash Adhikari April 18, 2020

 

काठमाडौँ, ६ वैशाख । राजा महेन्द्रले बहुदलीय संसदीय व्यवस्था अपहरण गरी निर्दलीय पञ्चायती व्यवस्था सञ्चालन गरी पार्टीहरुमाथि प्रतिबन्ध लगाएको अवस्थामा आफ्ना सांगठानिक र वैचारिक गतिविधिलाई सुचारु गर्ने उद्देश्यले भातृ संगठनको रुपमा स्थापना गरेको नेपाल विद्यार्थी संघ ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गरेको छ ।

नेपाली कांग्रेसका नेता उत्पादन गर्ने नर्सरीका रूपमा रहेको सबैभन्दा प्रभावशाली भ्रातृ संस्था आधा शताब्दीको इतिहास रचना गरिसकेपछि भने कि कर्तव्य विमूढ बनेको छ । संगठन अधमरो अवस्थामा पुगेको छ । लोकतन्त्रको खुला वातावरणमा समेत यसलाई मातृसंस्थाले स्वाभाविक ढंगले सञ्चालन हुन दिएको छैन् । मातृसंस्था नेपाली कांग्रेसका नेताहरुको यो संगठन कब्जा गर्ने दूषित विचारले यो अधमरो स्थितिमा पुगेको हो ।

सत्तामा अधिनायकवादी नेपाल कम्युनिष्ट पार्टी रहदा पनि उच्चशिक्षा अध्ययनरत शिक्षित विद्यार्थीहरु रहेको यो संगठनले न सरकारमाथि बैचारिक रुपमा आक्रमण गर्न सकेको छ, न शैक्षिक क्षेत्रका विद्यार्थी, अभिभावक र सरोकारवालाहरुको आवाज मुखरित गर्न सकेको छ । विश्वस्तरीय आधुनिक,बैज्ञानिक र व्यवहारिक गुणस्तरीय शिक्षाको आवाज बुलन्द गर्नुपर्ने यो संगठन बर्षेनी लाखौ विद्यार्थी उच्चशिक्षाको नाममा विदेश जाँदा पनि मौन रहेको छ । शैक्षिक वेरोजगारको विषयमा मौन छ । सरकार र सरोकारवालालाई नेपालमा नै विश्वस्तरीय शैक्षिक प्रतिष्ठान स्थापना गर्न तथा यहाँ स्थापित शैक्षिक संस्थाहरुको स्तरोन्नति गरेर विश्वस्तरमा पुर्याउन आवाज समेत उठाउन नसक्ने अवस्थामा पुगेको छ ।

पार्टीका नेताहरुको वरिपरी गणेशभक्ति देखाएर पद ओगट्ने र उद्योगी व्यापारीसंग चन्दा मागेर धन्दा चलाउने संगठनको रुपमा विकसित हुँदै आएको नेपाल विद्यार्थी संगठनलाई नेपालको शैक्षिक क्षेत्र र अध्ययनरत विद्यार्थीको भविष्यको बारेमा सोच्ने, योजना बनाउने र कार्यक्रम सञ्चालन गर्ने सक्षम संगठन बनाउन मातृ संगठनका नेताहरुले पनि रोकेका छन् । उनीहरु यसलाई आफूलाई आवश्यक पर्दा बन्द र हड्ताल गर्ने ढुंगामुढा संगठनको रुपमा विकसित गर्न लालयित छन् ।

सधै परामुखापेक्षी, पराधीन र परनिर्भर जमातमा रुपान्तरित गरी यो संगठनको प्राण हरण गर्ने कार्यमा यो संगठनको मातृसंस्थाकै नेताहरु संलग्न छन्् । यद्यपि यो संगठनबाटै राजनीतिमा पदार्पण गरेका पहिलो पुस्ताका नेताहरु अहिले नेपाली कांग्रेसको नेतृत्वमा रहेका छन् । देश र जनतालाई केन्द्रमा राखेर पार्टीका गतिविधिहरु सञ्चालन गर्नुपर्ने नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक राजनीतिक दलका नेताहरु आफू र आफ्नो परिवारलाई केन्द्रमा राखेर पार्टी र बखत बखतमा राज्यले दिएका पदहरु दुरुपयोग गर्दा संगठन जनताबाट टाढिदै गएर कमजोर हुन पुगेको यथार्थ स्वीकार गर्न अझै तयार छैनन् ।

नेपाल विद्यार्थी संघ ५१औँ वर्ष प्रवेशका उपलक्ष्यमा यो संगठनका मनोनित अध्यक्ष राजीव ढुङ्गानाले सम्पूर्ण विद्यार्थीहरूमा शुभकामना गर्नुभएको छ । उहाँले
शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा रहेका विकृति तथा विसंगतिविरुद्ध खबरदारी गर्दै शिक्षा र ज्ञान प्राप्तिका दिशामा उत्साहकासाथ अघि बढ्न प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।

उहाँले संघलाई अझ बढी प्रशिक्षित र अनुशासित संगठनका रुपमा रुपान्तरण गरी वर्तमान सयमका हरेक चुनौतीहरुको सामनागर्दै देशका सम्पूर्ण विद्यार्थीहरुको आशा र भरोशाको केन्द्रका रुपमा स्थापित गर्ने कार्यमा जुट्न सबैमा आह्वान पनि गर्नुभएको छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष ढुंगानाले नेपाली कांग्रेसका नेताहरू बिपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायतले देखाएको बाटोमा संघ निरन्तरअघि बढ्ने पनि स्पष्ट पार्नुभएको छ ।

Share Now

Leave a comment.