काठमाडौं । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेर ४५ पुगेको स्वास्थ्य मन्त्रालयले बुधवार जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारी अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना जाँचमा थप तीनजनामा सङ्क्रमण पाइएको छ ।
बुधवार पत्ता लागेका सङ्क्रमित सबै जना पुरुषहरु हुन् । उनीहरु क्रमश २४ , ६० र ७२ वर्षका छन् ।
हाल क्वारेन्टाइनमा बसिरहेका उनीहरूलाई विराटनगरस्थित कोशी अस्पतालमा लगिने डा. देवकोटाले बताउनुभएको छ ।
बुधबार भेटिएका तीनै जना संक्रमितहरु सुरुमा उदयपुरमा सङ्क्रमित भेटिएको १२ जनाको टोलीसँगै रहेका थिए ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभए अनुसार उनीहरूलाई सुरुमा सङ्क्रमण देखिएको थिएन । त्यसपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाइयो र त्यसपछि धरानको अस्पतालमा । त्यसपछि उनीहरूमा पनि सङ्क्रमण भेटियो ।
योसहित उदयपुरमा मात्रै सङ्क्रमितहरूको सङ्ख्या २७ जना पुगेको छ।
सातजना निको भए
देशभर कोरोनाभाइरस सङ्क्रमितमध्ये ७ जना निको भइसकेको प्रवक्ता देवकोटाले बताउनुभएको छ।
मङ्गलवार र बुधवार गरी सेती अस्पताल कैलालीबाट २ जना अनि बुधवार टेकु अस्पतालबाट एकजना डिस्चार्ज भएका छन् ।


















