Prakash Adhikari April 22, 2020

सानेपा(ललितपुर), ११ वैशाख । नेपाली कांग्रेस राष्ट्रिय जनता पार्टी , समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसंग संसदको अधिवेशन तुरुन्त बोलाउन आग्रह गरेका छन् ।

कांग्रेसको आग्रहमा बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरुको बैठकले यो निर्णय गरेको हो ।

बैठक पछि जारी गरिएको संयुक्त वक्तव्यमा मन्त्री परिषद्को निर्णयबाट राष्ट्रपतिबाट जारी यी अध्यादेशहरुले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मूल मर्ममा आक्रमण गरेकोले सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाई तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग यो बैठक जोडदार माग गर्दछ ।
बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा सरकारले हालै ल्याएका अध्यादेशहरु तत्काल फिर्ता लिन पनि सरकारसंग आग्रह गरिएको छ ।

बैठकमा सहभागी दलहरुको निर्णयमा भनिएको छ, ‘वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको ओली सरकारले कोरोना संक्रमणको कारण देश लकडाउनको अवस्थामा रहेको बेला हठात् संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (तेस्रो संशोधन) अध्यादेश, २०७७ सम्बन्धी ऐनमा गरेको संशोधन सम्बन्धी अध्यादेशहरु वर्तमान संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन भएकोले यसको घोर निन्दा गर्दछौं । ओली नेतृत्वको सरकारको लोकतान्त्रिक मूल्य र मान्यतालाई समाप्त पारी निरंकुश शासनतर्फ उन्मुख श्रृङ्खलावद्ध कदमहरुको पछिल्लो नाङ्गो कदमका रुपमा यी अध्यादेशहरुलाई हामीले लिएका छौँ । यी दुवै अध्यादेश तत्काल फिर्ता लिन यो बैठक जोडदार माग गर्दछ ।’

चार दलका नेताहरुले आम जनतालाई खाद्यान्न लगायतका न्यूनतम आवश्यकताहरु सहजरुपमा उपलब्ध गराउन पनि आग्रह गरेको छ ।दलहरुको संयुक्त निर्णयमा भनिएको छ, सरकार राहत, उद्धार र कोरोना संक्रमणका सम्भावितहरुलाई द्रुत गतिमा जाँच, र स्वास्थ्य सेवाबाट वञ्चित रहेका नागरिकहरुप्रति संवेदनशील नभएको मात्र होइन, पक्षपात र भेदभावपूर्ण तरिकाबाट प्रस्तुत भएकाप्रति यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।

बैठकले राजनीतिक दलहरु, नागरिक समाज र आम नेपाली नागरिकसमक्ष सरकारको अधिनायकवादउन्मुख कदमहरुप्रति थप चनाखो भई उसका लोकतन्त्र विरोधी र जनविरोधी कामहरुका विरुद्धमा सचेत र जागरुक हुन अपिल गरेको छ ।

चार दलको बैठकले संघीय संसदबाहिर रहेका राजनीतिक दलहरु र नागरिक समाजसँग पनि थप अन्तरक्रिया र छलफल गर्ने निर्णय गरेको छ ।

संघीय संसदमा प्रतिपक्षमा रहेका दलहरुबीच लकडाउनको अवस्थामा त्यसको सीमाभित्र रहेर सरकारका अलोकतान्त्रिक कदमको विरुद्धमा जनमत सिर्जना गर्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको निरंकुश र जनविरोधी कदमकाविरुद्ध आवश्यक कदम उठाउने निर्णय पनि गरेको छ ।

नेपाली कांग्रेसको अग्रसरतामा आयोजित बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौला, प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारी सहभागी हुनुहुन्थ्यो ।

बैठकमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र शरदसिंह भण्डारी, समाजवादी पार्टीका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणा सहभागी हुनुहुन्थ्यो ।

 

Share Now

Leave a comment.