काठमाडौं, १० वैशाख । भारत सरकारले नेपाललाई २३ टन औषधि हस्तान्तरण गरेको छ
कोभिड१९ विरुद्ध लड्न भारतले नेपाललाई उलब्ध गराएको औषधि बुधबार हस्तान्तरण गरिएको हो।
उक्त परिमाणको औषधी भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको हो।
भारतको तर्फबाट नेपालीलाई दिइएको औषधीहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाइड्रोक्सिक्लोरोक्विनको २.५ लाख डोजसहित ८.२५ लाख डोज अत्यावश्यक औषधि रहेको छ।
कोभिड १९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न हाम्रा नेताहरुले प्रतिबद्धता जनाएका छन्ु, भारतीय दूतावासले भनेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चैत २ गते सार्क राष्ट्रका नेतासँग गर्नुभएको भिडियो कन्फरेन्समा सार्क कोभिड १९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्नु भएको थियो ।
मोदीले त्यसबेला सबै छिमेकी मित्र राष्ट्रहरुलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। दूतावासले भारतीय तथा नेपाली स्वास्थ्यकर्मी यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि आपसी सहकार्यमा प्रयत्न गरिरहेका जनाएको छ।
संकटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्ध रहेको छ, दूतावासले भनेको छ, ुनेपालसहितका निकट छिमेकीहरुसँग सहकार्य गरेर हामी कोभिड १९ विरुद्धको युद्ध जित्नेमा विश्वस्त छौं ।


















