Prakash Adhikari April 27, 2020

 

सानेपा(ललितपुर), १५ बैशाख । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपाका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको सरकारका विरुद्ध संयुक्त संघर्ष गर्ने घोषणा गरेका छन् ।

बैठक पछि जारी निर्णयमा लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै ओली सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको उल्लेख गर्दै भनिएको छ, ‘हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव र शरत्कुमार भण्डारी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीद्धारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, ‘सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन् । यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गर्दछ ।’

बैठकले कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस् कार्ययोजना सरकारले दिन सकेको निष्कर्ष निकाल्दै भनेको छ, ‘यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ । साथै, कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिव्रता दिन यो बैठक माग गर्दछ ।’

तीन दलको संयुक्त बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति द्धय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री द्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री प्रकाशमान सिंह, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारी । जनता समाजवादी पार्टी, नेपालका नेताहरु महन्थ ठाकुर, डा. वावुराम भट्टराई, उपेन्द्र यादव, श्री राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी सहभागी हुनुहुन्थ्यो ।

Share Now

Leave a comment.