Prakash Adhikari April 28, 2020

 

लण्डन(संयुक्त अधिराज्य), १६ बैशाख(बीबीसी) । विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको संख्या ३० लाखभन्दा माथि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

उसका अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोनाभाइरस फैलिइसकेको छ।

विभिन्न माध्यमहरूबाट कोरोनाभाइरस सङ्क्रमितहरूको तथ्याङ्क सङ्कलन गरेर उक्त विश्वविद्यालयले विवरण सार्वजनिक गर्ने गर्छ।

उक्त विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ), युरोपियन सेन्टर फर डिजिजेज् प्रिभेन्सन एन्ड कन्ट्रोल, विश्वभरका सरकारी स्वास्थ्य विभागहरू, स्थानीय समाचार तथा स्वास्थ्यकर्मीहरूको ठूलो अनलाइन समुदायबाट तथ्याङ्कहरू लिने गरेको छ।

कोभिड १९ का कारण हालसम्म २ लाख ८ हजार मानिसको ज्यान गइसकेको छ।

विश्वमा सबैभन्दा धेरै सङ्क्रमण अमेरिकामा देखिएको छ।

डब्लूएचओको भनाइ

यसैबीच कोरोनाभाइरस सङ्क्रमण रोकथाममा लापरबाही गरेको आरोप लागेपछि डब्लूएचओका प्रमुखले सङ्गठनको बचाउ गर्नुभएको छ।

महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले विश्वभरका सबै देशहरूले गत ज्यानुअरी महिनाको अन्तिममा ‘सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा गरिएका बेला सुन्नुपर्ने थियो भनेका छन्।

डब्लूएचओ
त्यसबेला चीन बाहिर जम्मा ८२ वटा मात्र सङ्क्रमण भेटिएका थिए र कसैको पनि मृत्यु भएको थिएन।

“विश्वले त्यसबेला डब्लूएचओलाई ध्यानपूर्वक सुन्नुपर्थ्यो” , उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, “हामीले सबैलाई जनस्वास्थ्यबारे एउटा व्यापक दृष्टिकोण बनाउन सल्लाह दिएका थियौँ र हामीले भनेका थियौँ ‘खोजी, परीक्षण, आइशोलेसन गर्नुहोस्’। जुन देशले त्यसको पालना गरे आज उनीहरू अन्यको तुलनामा राम्रो अवस्थामा छन् भन्ने कुरा तपाईं आफैँ हेर्नसक्नुहुन्छ।”

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनले पाउने अमेरिकी आर्थिक सहायता रोकिदिनुभएको छ।

उनले डब्लूएचओले कोरोनाभाइरसलाई लिएर लापरबाही गरेको र भाइरस फैलिएको कुरालाई लुकाएको आरोप लगाएका छन्।

Share Now

Leave a comment.