काठमाडौ, १० जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित विरामीको संख्या दिनदिनै बढ्दो क्रममा देखिएको छ । यसै क्रममा शनिवार अपरान्ह थप ३६ मा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
यसअघि शनिवार बिहान मन्त्रालयले ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि गरेको थियो।
शनिवार थपिएका ६८ जनापछि नेपालमा जम्मा सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शनिवार सङ्क्रमण पुष्टि भएकामा बाँकेका २७ जना, बैतडीका ४ जना, सुर्खेतका ३ जना र झापा तथा बर्दियाका एक(एक जना रहेको बताउनुभयो।
सङ्क्रमितहरूको नमुना कोशी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, सेती प्रादेशिक अस्पताल र सुर्खेतमा परीक्षण गरिएको थियो।
सङ्क्रमितहरु कहाँका ?
सेती अस्पतालमा नमुना परीक्षण गरिएका चारजनामध्ये २० वर्षका दुईजना तथा २२ र २७ वर्षका पुरुषहरू छन्।
मन्त्रालयका अनुसार सबै बैतडी शिवनाथ गाउँपालिकाका हुन् र उनीहरू सबैमा आरडीटी परीक्षणमा सङ्क्रमण देखिएपछि आइसोलेशनमा राखिएको थियो।
त्यस्तै कोशी अस्पतालमा परीक्षण गरिएका झापाका ३३ वर्षका पुरुषमा सङ्क्रमण देखिएको हो। उनी झापामै क्वारेन्टाइनमा बसिरहेका थिए।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नरैनापुर मदरसा बाँकेका १७ देखि ३२ वर्षसम्मका ६ जना पुरुषहरूमा पनि सङ्क्रमण पुष्टि भएको छ।
बाँकेकै नरैनापुर ३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको क्वारैन्टाइनमा रहेका १५ जनामा पनि सङ्क्रमण देखिएको देवकोटाले बताउनुभयो।

डा.. देवकोटााका अनुसार ती सङ्क्रमितहरू १६ देखि ३२ वर्षका रहेका छन्।
नरैनापुर १ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६ जना मा पनि सङ्क्रमण पुष्टि भएको छ।
उनीहरू २२ वर्षदेखि ५० वर्षका पुरुषहरू हुन्।
बर्दियाको बढैया तालका ७ का एकजना १९ वर्षे पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ।
त्यस्तै सुर्खेतमा पनि २ जना पुरुष र १ जना महिलामा सङ्क्रमण देखिएको छ।
पुरुष बढी
हालसम्म सङ्क्रमित भएकाहरूमा ५ सय ५ जना पुरुष र ७९ जना महिला रहेका छन्।
नेपालका ४० जिल्लामा सङ्क्रमण फैलिसकेको छ।

प्रदेश अनुसार संक्रमितको संख्या हेर्दा प्रदेश नम्बर ५ मा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन्। त्यहाँ सङ्क्रमितको सङ्ख्या २ सय ७१ पुगेको छ।
त्यसपछि प्रदेश नम्बर २ मा धेरै सङ्क्रमित देखिएका छन्। त्यहाँ १ सय ७२ जना सङ्क्रमित छन्।
प्रदेश नम्बर १ मा ८६ वाग्मति प्रदेशमा ३२ सुदूरपश्चिम प्रदेशमा १४, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ४ जना रहेका छन्।
हाल देशभरि गरी ३२ हजार ५ सय ८७ जना क्वारेन्टाइनमा रहेका छन्।
आइसोलेशनमा ५ सय ८ जना रहेका र ७० जना निको भइसकेको मन्त्रालयले जनाएको छ।


















