Prakash Adhikari May 23, 2020

करिष्मा भास्वानी / बीबीसी अर्थ सम्वाददाता

न्यूयोर्क (संयुक्त राज्य अमेरिका), १० जेठ (बीबीसी) । प्रसिद्ध अर्थशास्त्री प्राध्यापक नुरियल रुबिनिले कोरोनाभाइरसका कारण संसारभर लामो आर्थिक मन्दी हुने र त्यसबाट फर्कन लामो समय लाग्ने चेतावनी दिनुभएको छ।

उहाँले यसको असरले विश्व झन् विभाजित हुने पनि चेतावनी दिनुभएको छ ।

आर्थिक परिदृश्यमा निर्मम ढंगका भविष्यवाणी गर्ने ख्याति कमाउनुभएका प्राध्यापक नुरियल रुबिनिले महामारीका कारण गुमेका केही जागिरहरू कहिल्यै नफर्कने बताउनुभएको छ।

यसवर्ष कोरोनाभाइरसको प्रभावबाट विश्वव्यापी अर्थतन्त्रमा सुधार आए पनि यसको असर लामो समय देखिने उहाँको भनाइ छ।

‘अभूतपूर्व’ आर्थिक मन्दीको चेतावनी दिएका प्राध्यापक रुबिनि सन् २००८ को वित्तीय सङ्कटका बारेमा अरूभन्दा पहिले गरेको अनुमानका लागि चर्चित हुनुहुन्छ।

‘सन् २००८ को सङ्कटका समयमा करिब तीन वर्ष लागेको थियो’, रुबिनिले बीबीसीको टकिङ एशिया कार्यक्रमा न्यूयोर्कस्थित आवासबाट भन्नुभयो,’तर यो पटक तीन वर्ष लागेन, तीन महिना पनि लागेन। तीन हप्तामै सबै ध्वस्त भयो।’

प्राध्यापक रुबिनिले यसबाट फर्कन अर्थतन्त्र ‘युु’ आकारको हुने बताउनुभयो। यसको अर्थ आर्थिक वृद्धि शून्यमा पुगेर लामो समयपछि माथि उक्लन थाल्नु हो।

उहाँले अझ त्यो ‘एल’ आकारको हुनसक्ने बताए जसको अर्थ शून्यको नजिक लामो समयसम्म रहन सक्छ।

यसको कारण धनी र गरिब सबै देशहरूमा कोरोनाभाइरसका कारण गुमेको रोजगारी हो।

‘गुमेका यी रोजगारीहरू आंशिक रूपमा मात्र फर्कन्छन् एवम् कम तलब र आंशिक रोजगारीका रूपमा बिस्तारै आउँछन्’, उहाँले भन्नुभयो, ‘औसत व्यक्तिका लागि आम्दानी र ज्याला अझै कम हुनेछ।’

‘तपाईँले पसल र व्यवसाय खोल्न सक्नुहुनेछ तर के तिनीहरूको व्यापार फिर्ता आउँछ भन्ने प्रश्न हो’, रुबिनि भन्नुहुन्छ,’चीनमा अधिकांश पसलहरू अझै खाली छन्। आधा उडानहरू छैनन्। जर्मनीमा पसलहरू खुल्ला छन् तर को किन्न जान चाहन्छ ?’

एशियाले भने ‘अन्य उन्नत अर्थतन्त्रहरू’ भन्दा राम्रो वृद्धि देख्ने उहाँको भनाइ छ।

तर अमेरिका र चीनबीच ठूलो विभाजन हुने र धेरै एशियाली देशहरू दुई महाशक्तिबीच एकको पक्षमा लाग्न बाध्य हुने उहाँको अनुमान छ।

‘उनीहरूले अन्य देशले कि हामीसँग कि हाम्रोविरूद्ध भन्ने छन्’,प्राध्यापक रुबिनि भन्नुहुन्छ,’त्यसैले संसार अझ विभाजित हुनेछ।’

Share Now

Leave a comment.