Prakash Adhikari July 19, 2020

 

काठमाडौं, ४ साउन । धितोपत्रको दोस्रो बजारलाई देशव्यापी विस्तार गरी प्राथमिक सेयरमा लगानी गर्ने सर्वसाधरण नेपालीलाई आफ्नो सेयरको किनबेचको मौका दिन नेपाल धितोपत्र बोर्डले ठेकेही बर्षदेखि गरेको प्रयास आजदेखि तुहिएको छ ।

नेपाल धितोपत्र बोर्डले आइतबार जारी गरेको बार्षिक नीति तथा कार्यक्रमले बैंकलाई ब्रोकर लाइसेन्स दिने च्याप्टर क्लोज गरेको हो । बोर्डले आज ल्याएको नीति र कार्यक्रममा धितोपत्रको दोस्रो बजारसम्बन्धी जानकारी र पहुँच देशव्यापी बनाउन धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिलाई प्रमाणीकरण गरी परिचालन गर्न आवश्यक कार्यविधि बनाइने प्रावधान उल्लेख छ ।

नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार अब देशभरी गाँउ गाउँमा नेपालका  धितोपत्र दलाल व्यवसायीले नियुक्त गरेका आधिकारिक एजेण्टहरु मेनपावरका एजेण्ट जसरी घुम्ने छन् र शेयर भएका सर्वसाधरणहरुको सेयर ठेक्कामा लिएर नजिकको शहरबजारमा रहेका धितोपत्र दलालको कार्यालयबाट कारोबार गरी पैसाको पोको बोकेर तिनलाई भुक्तानी दिनेछन् ।

https://www.facebook.com/SebonOfficial/videos/4434417706576119/

तर यो दलालमाथि दलाल सिर्जना गरेर सर्वसाधरणको सेयर खरिद गरी उनीहरुलाई भुक्तानी दिने कार्य ब्यबहारिक रुपमा कठिन हुने जोखिम पनि त्यतिकै छ किनकी अहिले सेयर खरिद बिक्री आदेश विद्युतीय रुपमा सेयरधनी आफैले गर्नुपर्ने व्यवस्था भइरहेको छ । छरिएका बस्तीहरुमा केही व्यक्तिहरुमा रहेका सेयरहरुको खरिदबिक्री गरिदिन एक पालिकामा एक एजेण्ट दिए पनि तिनले बर्षभरी सेयर खरिदबिक्री गरेर आफ्नो कार्यालय सञ्चालन खर्च र आफ्नो पारिश्रमिक जुटाउन अवस्था कायम नरहन सक्छ ।

हाल कार्यरत धितोपत्र दलाल व्यवसायीलाई मुख्य शहरी क्षेत्रमा शाखा खोल्न अनुमति दिइएको थियो र सबै दलाल व्यवसायीका शाखाहरु बर्षैभरि राम्रोसग चलेका सुन्न पाइएको छैन् । बैंक तथा वित्तीय संस्थालाई ब्रोकर सुविधा दिदाको लाभ के हुन्थ्यो भने उनीहरुले भैरहेका स्टाफबाट देशभरका शाखाबाट यस्तो सुविधा सर्वसाधरण सेयर धनीलाई दिन सक्थे र खरिदबिक्रीको आदेश र कारोबार मात्र हैन, त्यसपछिको भुक्तानी पनि संबबन्धित सेयरधनीको खातामा स्वचालित रुपमा जोडिन सक्थ्यो, खरिद गर्दा खरिद गरेको रकम स्वतः काटिने र बिक्री गर्दा विक्री गरेको रकम स्वतः खातामा जम्मा हुने अवस्था सिर्जना हुन्थ्यो ।
यही यथार्थलाई आत्मसात गरेपछि झण्डै एक बर्ष लामो अध्ययन पछि संसदको आर्थिक समितिले नेपालमा पूँजी बजार तथा धितोपत्र बजारको संस्थागत विकासको लागि र आम नागरिकलाई यो बजारबाट लाभ दिनका लागि बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन उपयुक्त हुने तर यसको निर्णय नियमन निकाय नेपाल धितोपत्र बोर्डबाटै हुनुपर्ने सुझाव सहितको प्रतिवेदन दिएको थियो ।

तर नेपालमा धितोपत्र बजारको विकास गर्ने,आम नागरिकलाई धितोपत्र बजारसम्बन्धी ज्ञान दिएर साक्षर पनि बनाउने र आफूले तयार गरेको धितोपत्र बजारका सहभागीहरुको नियमन पनि गर्ने जिम्मेवारी पाएको नेपाल धितोपत्र बोर्डले सुरक्षित,भरपर्दो, संगठित र संस्थागत मार्ग छोडेर दलालमाथि दलाल सिर्जना गर्न मार्ग अवलम्बन गरेकोले धितोपत्रको दोस्रो बजार देशव्यापी विस्तार गर्ने आजसम्मको उसैको प्रयास  तुहिन गएको छ ।

प्रतिवेदन पारित, पुँजी बजार उकास्न बैंकलाई ब्रोकर लाइसेन्सः सभापति दाहाल

नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको बार्षिक नीति तथा कार्यक्रममा साना तथा मझौला कम्पनी र ठूला कम्पनीको छुट्टै कारोबार गर्ने योजना रहेको छ।

उसले सार्वजनिक गरेको कार्यक्रममा ूसाना तथा मझौला कम्पनीको लागि छुट्टै कारोबार हुने गरी सेमी प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारको लागि मेन बोर्डको व्यवस्था गर्नको लागि नेप्सेलाई सहजीकरण गर्ने उल्लेख छ।

बोर्डले लगानीकर्ताहरूको बैंक खाता र डिम्याट खाता आबद्ध गरी पूर्ण स्वचालित कारोबार प्रणालीको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने भएको छ।

त्यस्तै हाल हुँदै आएको कारोबार राफसाफको तीन दिनको अवधिलाई छोट्याएर टि प्लस टु मा झार्ने बताएको छ। उसले ब्रोकर कम्पनीको टिएमएस लाई समेत सुधार गर्ने कार्यक्रममा समेटेको छ।

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको चरणबद्ध विकासका लागि चार बर्षे रणनीति बनाइ काम गर्ने जनाएको छ।

बोेर्डले लामो समय देखि रोकिएको बस्तु विनिमय बजारलाई समेत चालु आर्थिक वर्षमै स्वीकृति प्रदान गर्ने जनाइएको छ। यस अन्तरगत वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी र वस्तु कारोबार व्यवसायीहरूलाई अनुमति पत्र प्रदान गर्नेू विषय समेटिएका छन्।

वास्तविक क्षेत्रलाई बजार प्रवेश गराउन बोर्डले बुक बिल्डिड. पद्धतिको अवलम्बन गर्ने भएको छ । योे प्राथमिक शेयर १०० रुपैयामा दामासाहीले दिने नभई हाल लिलामीमा निस्केको शेयरमा लगानीकर्ताले प्रतिकित्ता शेयरको मूल्य उल्लेख गरेर आवेदन गर्दछन, त्यसरी नै आवेदन माग गर्ने र त्यसरी माग भएका मूल्यका आधारमा शेयर बाँडफाँड गर्र्ने वैज्ञानिक पद्धति हो । यसले वास्तविक क्षेत्रलाई सार्वजनिक शेयर निष्कासन गर्न प्रेरित गर्ने विश्वास बोर्डले लिएको छ ।

बार्डले दोेसो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्जमा विदेशी रणनीतिक साझेदार भित्र्याई यसलाई विश्वस्तरीय बनाउने योजना पनि सारेको छ । त्यस्तै केन्द्रीय निक्षेप सेवा कम्पनीको स्वामित्व संरचनामा सुधार ल्याउन आवश्यक सहजीकरण गरी धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने कार्यक्रम पनि यसबर्ष समावेश गरिएको छ।

बोर्डले सरकारी ऋण पत्रलाई दोस्रो बजारमा कारोबार गराउन राष्ट्र बैंकसित समन्वय गर्ने बताएको छ ।

धितोपत्रको दोस्रो बजारमा स्थायित्व ल्याउन स्टक डिलरको व्यवस्था गर्ने र गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा भित्र्याउन उपयुक्त कदम चालिने विषय पनि बोर्डको बार्षिक कार्यक्रममा परेको छ ।

बोर्डले आफ्ना नियमित काम अन्तरगत नै प्राइभेट इक्वीटी फन्ड तथा भेन्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोषहरू सञ्चालन गर्न अनुमति प्रदान गर्ने बताएको छ ।

दोस्रो बजारलाई पारदर्शी बनाउन डिजिटल केवाइसी लागू गर्ने ूधितो पत्र बजारमा हुने ग्राहक परिचय विवरणको प्रभावकारी व्यवस्थापनका लागि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमार्फत एकीकृत ग्राहक परिचय विवरण व्यवस्थापन मिलाउने ,बोर्डको आन्तरिक कार्य प्रणालीलाई प्रविधि मैत्री बनाउने विषय पनि बार्षिक नीति तथा कार्यक्रममा समेटिएको छ।

बोर्डले ट्ष्ट ऐनको मस्यौदा गरी अर्थ मन्त्रालयमा समक्ष पेस गर्ने, ऋणपत्र बजार सम्बन्धी नियमावली बनाउने, भित्री कारोबार बन्देज नियमावली कार्यान्वयन गर्ने विषय पनि यस बर्षको नीति तथा कार्यक्रमा परेका छन् ।

धितोपत्रको सार्वजनिक निष्कासनमा स्वतन्त्र मूल्य निर्धारण हुने व्यवस्था मिलाउन आवश्यक निर्देशिका बनाई बुक विल्डिङ्ग प्रणाली लागू गर्ने ? धितोपत्रको दर्ता तथा निष्कासन गर्ने सङ्गठित संस्थाहरूको मर्जर तथा एक्विजिशनसम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गर्ने, धितोपत्र व्यवसाय गर्न अनुमति पत्र प्राप्त संस्थाहरूको मर्जर तथा एक्विजिशन सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गर्ने र धितोपत्रको दोस्रो बजारसम्बन्धी जानकारी र पहुँच देशव्यापी बनाउन धितो पत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिलाई प्रमाणीकरण गरी परिचालन गर्न आवश्यक कार्यविधि बनाउने कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा धितोपत्र बजारमा गैर आवासीय नेपालीलाई प्रवेश गराउने सम्बन्धमा आवश्यक कार्यविधि तर्जुमा गर्ने र वैदेशिक पुँजी परिचालन समेत गर्ने व्यवस्था मिलाउन सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी नियमावली तर्जुमा गर्ने विषय पनि परेको छ ।

बोर्डले यस आर्थिक बर्षमा प्रादेशिक कार्यालय स्थापना सम्बन्धमा अध्ययन गरी जग्गा प्राप्ति कार्य अगाडि बढाउने छ भने धितोपत्र बजारमा सूचीकृत जलविद्युत कम्पनीहरूको परियोजना सञ्चालन अवधि समाप्त भएपछि उक्त कम्पनीमा सर्वसाधारण शेयर धनीको स्वामित्व तथा कम्पनीको व्यवस्थापनका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गर्ने सम्बन्धमा अध्ययन गर्ने भएको छ।

धितोपत्र बजारमा लगानी विविधीकरणका लागि इन्डेक्स फन्ड तथा इक्वीटी डेरिभेटिभ्स् औजार जारी गर्न आवश्यक व्यवस्था मिलाई सहजीकरण गर्ने तथा नेप्से परिसूचक र सोको गणना विधिलाई समसामयिक बनाई धितो पत्र बजारमा स्थिरता ल्याउने उपायहरू अवलम्बन गर्ने विषयलाई पनि बोर्डले यस बर्षको कार्यक्रममा राखेको छ ।

बोर्डले यसै बर्ष धितोपत्र तथा फ्यूचर्स बजार र वित्तीय शिक्षा प्रशिक्षण संस्था स्थापना सम्बन्धमा अध्ययन गरी आवश्यक कार्य अगाडि बढाउने छ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस : धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम

Share Now

Leave a comment.