काठमाडौं, ४ साउन । नेपालमा विगत २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप १ सय ५६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १७ हजार ६ सय ५८ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार आज ३ हजार ७ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै नेपालमा पछिल्ले २४ घण्टामा थप ५८ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
अहिलेसम्म ११ हजार ६ सय ९५ जना संक्रमित निको भएको प्रवक्ता गौतमले बताउनुभयो।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोनाका कारण ४० जनाको मृत्यु भइसकेको छ।
अहिले देशभरि कुल ५ हजार ९ सय २३ मानिस संक्रमणका कारण आइसोलेशनमा राखिएका छन्।
नेपालमा गत असार १९ गते सर्वाधिक ७ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।
भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारेन्टाइनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।
नेपालमा सबै ७७ जिल्लामा कोरोनाभाइरस सङ्क्रमित भए पनि अहिले भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा संक्रमितको संख्या शून्य भएको छ ।
सक्रिय सङ्क्रमित ५०० भन्दा बढी भएका जिल्लाहरूमा रौतहट, कैलाली र बाजुरा रहेका छन्।
प्रदेश अनुसार सबैभन्दा बढी सक्रिय सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा रहेको छ। त्यहाँ २ हजार ३ सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् भने प्रदेश नं २ मा १ हजार ८ सय ८६ जना रहेका छन्।
त्यस्तै प्रदेश नं १ मा ७९, वागमतीमा ४ सय १०, गण्डकीमा ४ सय २८, प्रदेश नं ५ मा ४ सय ४७ र कर्णाली प्रदेशमा २ सय ९६ जना सक्रिय सङ्क्रमित रहेका छन्।
अरू तथ्याङ्क के छ ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७ सय ४१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म ३ लाख१५ हजार ५ सय ७० जनाको पीसीआर परीक्षण गरिएको छ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
साउन ४ गते आइतवार अपराह्णसम्मको तथ्याङ्क
- १७,६५८ कुल सङ्क्रमण
- ५८ विगत २४ घण्टामा घर फिर्ता
- विगत २४ घण्टामा पीसीआर परीक्षण ३,७४१
- सक्रिय सङ्क्रमित ५,९२३
- देशभरि क्वारन्टाइनमा २२,६६२
- अहिलेसम्म निको ११,६९५
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
अहिले देशभरिका क्वारन्टाइनमा रहेका मानिसको सङ्ख्या २२ हजार भन्दा केही बढी छ।
अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टाइनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।
अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित भेटिएका छन्।


















