काठमाडौं, ८ साउन । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनचाँदीको दैनिक मूल्य निर्धारणलाई वैज्ञानिक र पारदर्शी बनाउने सम्बन्धमा सरोकारवालाहरुसंग सुझाव माग गरेको छ ।
नेपाली महिलाहरुको लागि अधिक आकर्षण रहदै आएको यी महंगा धातुहरुको दैनिक मूल्य निर्धारण वैज्ञानिक तथा पारदर्शी बनाउने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मंत्रालयले उप–सचिव देवीप्रसाद थपलियाको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ र सो कार्यदलमा सुनचाँदी, रत्न तथा आभूषण महासंघको पनि प्रतिनिधित्व रहेको छ ।
विगत १० वर्ष देखि कोटा प्रणाली अन्तर्गत नेपाल राष्ट्र बैंकले तोकेका वाणिज्य बैंकहरु मार्फत सुनको पैठारी हुँदै आएको र चाँदीको आयात भने खुला रहेको छ ।
बैंक मार्फत पैठारी हुने सुनको थोक विक्री नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल रत्न तथा आभुषण संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघका साथै अन्य दुई महासंघहरु समेत गरी विभिन्न ५ संस्थाबाट सिफारिश गरिएको आधारमा व्यवसायीहरुले सम्बन्धित बैंकबाट खरीद गर्ने परिपाटी रहेको छ ।
आयातकर्ता बैंकले विक्री गर्ने सुनको मूल्य एकै दिनमा बैंक पिच्छे फरक–फरक हुने गरेकोले त्यसको असर खुद्रा मूल्यमा पर्नु स्वाभाविक छ । यसबाट गहना व्यवसायी र आम उपभोक्तामा अन्योल सिर्जना हुन सक्ने विषयलाई ध्यानमा राखी यस महासंघले बैंकबाट खरीद गरिएको आधारमा दैनिक खुद्रा मूल्य निर्धारण गर्दै आएको छ ।
आयातकर्ता बैंकले दैनिक मूल्यमा एकरुपता कायम नगरेको र कतिपय संस्थाले “आधिकारिक मूल्य” भन्दै बैंकको आधार–मूल्य भन्दा पनि कम रकमको दैनिक खुद्रा मूल्य तोकेर बजारलाई अराजक बनाएको विगतको अभ्यासलाई मनन गर्दै मूल्य निर्धारण कार्यलाई बैज्ञानिक, पारदर्शी व्यवसाय–मैत्री र आम उपभोक्ताको हक, हितको समेत प्रत्याभूति हुने गरी स्पष्ट प्रणालीको तर्जुमा गर्न अवलम्बन गरिनु पर्ने विषयहरु बारे आ–आफ्ना सुझावहरु दिई सहयोग गर्नु हुन आवद्ध सदस्य संस्थाहरु, गहना व्यवसायीहरु, आम उपभोक्ता एवं संचारकर्मीहरुसंग महासंघले अनुरोध गरेको छ ।


















