काठमाडौं, ८ साउन । वैकल्पिक राजनीतिक शक्ति बन्न प्रयासरत साझा पार्टीले इनफ इज इनफ ग्रुपका अनशनकारीहरुको माग पूरा गरी उनीहरुको जीवनको रक्षा गर्न सरकारसंग माग गरेको छ ।
पार्टीका प्रवक्ता शरदराज पाठकले बिहिबार प्रेस विज्ञप्ति जारी गरी सो माग गर्नुभएको हो ।
कोभिड १९ महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै ‘इनफ इज इनफ’ अभियान सम्बद्ध युवाहरू दोस्रो पटक अनशन बसेको आज ६ दिन भएको छ।
केही हप्ताअघि पीसीआर टेस्ट बढाउनु पर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, अग्र पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका कयौँ जायज मागहरू राख्दै दुईजना युवाहरू ईः र पुकार बम १२ दिनसम्म अनशन बस्नुभएको थियो। सरकारले ती मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएपछि उहाँहरूले अनशन तोड्नुभएको थियो ।
तर सरकारको प्रतिबद्धतामा कुनै प्रगति नभएको भन्दै सरकारमाथि दबाब सृजना गर्न ईः, करण गुरूङ र समाइरा श्रेष्ठले पुनः सत्याग्रह सुरू गर्नुभएको छ।
सरकारले आम सर्वसाधारणको मागविना आफै गर्नपर्ने कामहरू गराउनका लागि युवाहरूले आफ्नो ज्यान जोखिममा राखेका छन्। साझा पार्टीले भनेको छतर सत्तारूढ दलका जिम्मेवार नेताहरू शक्ति संघर्षको घिनलाग्दो राजनीतिक खेलमा अहोरात्र व्यस्त छन्। देश र जनताप्रति उनीहरूको कुनै संवेदनशीलता देखिँदैन।

साझा पार्टीले सरकारी बेवास्ताले अनसनकारी युवाको स्वास्थ्यमा दीर्घकालीन असर परे वा उनीहरूको जीवन तलमाथि भए, त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण दोष प्रधानमन्त्री ओली स्वयंले लिनुपर्ने चेतावनी पनि दिएको छ।
अनशनरत युवाहरूप्रति पूर्ण ऐक्यवद्धता जाहेर गर्र्दै साझा पार्टीले देश(विदेशका सम्पूर्ण नेपालीलाई जहाँबाट जसरी सकिन्छ उनीहरूप्रति ऐक्यवद्धता प्रकट गर्न हार्दिक आग्रह पनि गरेको छ ।



















