वाशिटन डी.सी.(संयुक्त राज्य अमेरिका),२३ साउन(बीबीसी) । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ एप टिकटक र वीच्याटलाई व्यापार गर्न प्रतिबन्ध लगाउने उद्देश्यसहित ल्याइएका दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ।
आगामी ४५ दिनमा ती आदेशहरू लागू हुँदा सबै अमेरिकी कम्पनीले ती चिनियाँ एप सञ्चालन गर्ने कम्पनीसँग आफ्नो कारोबार बन्द गर्नुपर्नेछ।
ट्रम्पले अमरिकाको राष्ट्रिय सुरक्षाका लागि त्यसो गर्नु आवश्यक भएको दाबी गरेका छन्।
अमेरिकी कम्पनी माइक्रोसफ्टले अमेरिकामा सञ्चालन गर्नेगरी टिकटक किन्न वार्ता गरिरहेका बेला यो निर्णय भएको हो। ट्रम्पले त्यसका लागि सेप्टेम्बर १५ सम्मको समयसीमा तोकिदिनुभएको थियो।
यसबाट चीन र अमेरिकाबीच प्रविधिको क्षेत्रमा प्रतिद्वन्द्विता बढेको सङ्केत देखिन्छ।
चिनियाँ कम्पनी बाइटडान्टको स्वामित्वमा भएको छोटो भिडिओ सेयर गरिने टिकटक र टेन्सेन्ट कम्पनीले सञ्चालन गरेको सन्देश पठाउने वीच्याटलाई लक्षित कार्यकारी आदेश ट्रम्प प्रशासनले चीनविरुद्ध चालेको पछिल्लो कदम हो।
ट्रम्पले के भने ?
दुवै आदेशमा ट्रम्पले सूचना र सञ्चार प्रविधि र सेवामा अतिरिक्त कदम लिन आवश्यक भएको आफूलाई लागेको उल्लेख गर्नुभएको छ।

“चीनमा विकसित र चिनियाँ कम्पनीको स्वामित्वमा भएका मोबाइल एपहरू अमेरिकामा फैलिँदा अमेरिकी राष्ट्रिय सुरक्षा, विदेशनीति र अर्थतन्त्रलाई निरन्तर खतरा भइराख्छ “, उहाँले भन्नुभयो।
उहाँले दुवै एपलाई इङ्गित गर्दै ‘खतरा’ भएको बताउनुभयो।
अमेरिका-चीन सङ्घर्षमा टिकटक किन फस्यो ?
ट्रम्पले जारी गरेको आदेशमा टिकटकले डेटा सङ्कलन गर्दा चीनले अमेरिकी सरकारी कर्मचारीहरू पहिल्याउन सक्ने र तिनबारे व्यक्तिगत सूचना सङ्कलन गरी धम्क्याउन वा जासुसी गर्न सक्ने उल्लेख छ।
उहाँले टिकटकले राजनीतिक रूपमा संवेदनशील सामग्री ( जस्तै हङ्कङमा भएका विरोधप्रदर्शन र बेइजिङले अल्पसङ्ख्यक उइगुर मुस्लिम समुदायसँग गरेको व्यवहार)लाई सेन्सर गर्ने गरेको बताउनुभएको छ।
ट्रम्पका अनुसार अमेरिकी सरकारी निकायहरूका सरकारी फोनमा टिकटक प्रतिबन्ध भइसकेको छ।
बाइटडान्स र टेन्सेन्टले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।
पृष्ठभूमि के हो ?
गत शुक्रवार अमेरिकी राष्ट्रपति ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने घोषणा गरेपछि प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटकलाई अमेरिकामा सञ्चालन गर्न आफूले किन्न लागेको बताएको थियो।

ट्रम्प र सी
यो साता राष्ट्रपति ट्रम्पले अमेरिकी सरकारले विक्री मूल्यको ूउल्लेख्य भागू पाए माइक्रोसफ्टलाई बेच्ने कुराको समर्थन गर्ने बताउनुभएको थियो।
तर उहाँले सेप्टेम्बर १५ देखि अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको थियो।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटक र वीच्याटको नाम उल्लेख गर्दै व्यक्तिगत एपमा चिनियाँ प्रविधिको प्रभावमा अमेरिकाले थप नियन्त्रण गर्ने घोषणा गरेको भोलिपल्ट यी कार्यकारी आदेशहरू आएका हुन्।
गत वर्ष अमेरिकी सरकारले चिनियाँ सञ्चार कम्पनी ह्वावेई र जेडटीईविरुद्ध कारबाही गरेको थियो।


















