दुबाई( संयुक्त अरब इमिरेट्स), १३ भाद्र (बीबीसीबाट) । संयुक्त अरब एमिरेट्स (यूएई)मा हुने आईपीएल प्रतियोगिताअघि चेन्नई सुपर किङ्ग्सका १० सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
तीमध्ये एक भारतीय खेलाडी पनि रहेको बताइएको छ। तर उनको नाम भने सार्वजनिक गरिएको छैन।
ईएसपीएन वेबसाइटका अनुसार उक्त टोलीलाई सहयोग गर्न खटाइएका कर्मचारी र टोलीकै एक सदस्यकी पत्नी पनि सङ्क्रमित भएका छन्।
कोरोनाभाइरस महामारीका कारण प्रतियोगिता पूर्वनिर्धारित मितिभन्दा पछि धकेलिएको थियो तथा खेलस्थल भारतबाट यूएईमा सार्नुपरेको थियो।
चेन्नईको टोली अगस्ट २१ तारिखमा यूएई पुगेको थियो र शुक्रवारबाट प्रशिक्षणमा जुट्ने तयारीमा थियो।
तर अब प्रशिक्षण सेप्टेम्बर १ बाट सुरु हुने बताइएको छ। आईपीएल प्रतियोगिता सेप्टेम्बर १९ तारिखबाट सुरु हुँदैछ।
प्राप्त जानकारी अनुसार सङ्क्रमण देखिएका सबै सदस्यहरूलाई अलग्गै होटलमा राखिएको छ र उनीहरू चिकित्सकीय निगरानीमा छन्। उनीहरू कम्तीमा दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्नेछ।

भारत फर्किए सुरेश रैना
यसैबीच चेन्नई सुपर किङ्ग्सका खेलाडी सुरेश रैना व्यक्तिगत कारण देखाउँदै भारत फर्किएको र यो वर्षको प्रतियोगितामा सहभागी नहुने चेन्नई सुपरकिङ्ग्सले ट्विटरमार्फत् जानकारी दिइएको छ।
‘यस्तो अवस्थामा चेन्नई सुपरकिङ्ग्सले रैनाको परिवारलाई पूरा सहयोग गर्नेछ’, टोलीका प्रमुख कार्यकारी केसी विश्वनाथनलाई उद्धृत गर्दै ट्विटरमा भनिएको छ।
रैना के कारण भारत फर्किनुपरेको हो भन्ने कुराको विस्तृत जानकारी दिइएको छैन। उनी भारत फर्किएको खबरसँगै प्रशंसकहरूले सामाजिक सञ्जालमा निराशा व्यक्त गरिरहेका छन्।
गत वर्ष चेन्नईलाई पराजित गर्दै मुम्बई इन्डियन्सले आईपीएको उपाधि जितेको थियो।

केही साताअघि भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीसँगै रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका थिए।
तेह्र वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा उनले १८ टेस्ट, २२६ एकदिवसीय खेल र ७८ वटा टी २० प्रतियोगितामा सहभागिता जनाएका छन्।
३३ वर्षीय रैनाले आईपीएलमा चेन्नई सुपरकिङ्ग्सका लागि १ य ९३ खेल खेलेका छन्।
यो वर्ष कोरोनाभाइरस मात्रै नभएर भारत-चीन सीमा विवादका कारण पनि प्रतियोगितामा सङ्कट को बादल छाएको थियो।
चिनियाँ कम्पनी भिभो प्रतियोगिताको मुख्य प्रायोजक रहेको विषय पनि निकै विवादित भएको थियो।
गत वर्ष चेन्नईलाई पराजित गर्दै मुम्बई इन्डियन्सले आईपीएको उपाधि जितेको थियो।


















