काठमाडौं, १३ भाद्र । नेपालमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या २ सय नाघेको छ ।
शनिवार कोरोना भाइरसबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंग कोरोनाबाट नेपालमा जीवन गुमाउनेहरुको संख्या २ सय ७ पुगेको हो ।
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ८ सय ८४ जना संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३७ हजार ३ सय ४० पुगेको छ।
शनिवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अहिले देशभरि १६ हजार ५ सय ७८ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी दिनुभयो ।
तीमध्ये १० हजार १ सय ४५ जना संस्थागत आइसोलेशनमा र बाँकी ६ हजार ४ सय ४५ जना घरमै छन्।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।
अहिलेसम्म एक चिनियाँ नागरिकसहित देशभरि २ सय ७ जनाले कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन्।
भदौ १२ गते शुक्रवार ९ सय २७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो भने १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो।
को हुन् सङ्क्रमित र मृतक ?
अहिले थपिएका सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्।
मृतकमध्ये तीन जना महिला र नौ जना पुरुष छन्।
मृतकहरू ३० देखि ८३ वर्षसम्मका भएको जानकारी डा. गौतमले दिनुभएको छ। उनीहरूमध्ये २ महिलासहित ६ जना काठमाडौं उपत्यकाका हुन्।
त्यसैगरी पर्सामा दुई जना तथा पाल्पा, सिराहा, गोरखा र कास्कीमा एक-एक जनाले पनि कोभिड-१९ सँग सम्बन्धित कारणले ज्यान गुमाए।
थपिएका सङ्क्रमितमध्ये २ सय ४२ महिला र ६ सय ४२ पुरुष छन्।
काठमाडौं जिल्लामा सर्वाधिक १ सय ५५ सङ्क्रमित फेला परेका हुन्। ललितपुर १९ र भक्तपुरमा १२ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।
त्यसैगरी सर्लाहीमा ८३, पर्सामा ७३, चितवनमा ५७ र धनुषामा ४९ सङ्क्रमित फेला परेका हुन्।
अरू तथ्याङ्क के छ ?
विगत २४ घण्टाको अवधिमा ११ हजार ५ सय १६ वटा नमुनाको परीक्षण गरिएको थियो।
सो अवधिमा ३ सय १३ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।
अहिलेसम्म ५५ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्।
देशभरि क्वारेन्टाइन ८ हजार ३५ जना छन्।
सङ्क्रमितमध्ये गम्भीर लक्षण देखिएका १ सय ७५ जना सघन उपचारमा र २२ जना भेन्टिलेटरमा छन्।
मन्त्रालयतले भदौ ११ गते बिहीवार १ हजार १ सय ११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १ हजार नाघेको थियो।

भदौ ९ गते थप ८ सय ५५ जनामा सङ्क्रमण र सात जनाको मृत्यु तथा भदौ १० गते ११ जनाको मृत्युसहित ८ सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
यसअघि भदौ ५ गते सरकारले ८ सय ३८ जनामा सङ्क्रमण र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८ सय १८ थियो।
यसअघि असार ४ गते ६ सय ७१, असार १० गते ६ सय २९, असार १९ गते ७ सय ४०, साउन २७ गते ६ सय ३८, साउन ३२ गते ६ सय ४१ र भदौ ८ गते ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। (बीबीसीबाट)


















