Prakash Adhikari September 21, 2020

काठमाडौं, ५ असोज । नेपालमा विगत २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार १ सय ५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप १६ जनाको जीवन यसै घातक कोरोना भाइरसको संक्रमण समेतको कारणले भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६५,००० नाघेको छ भने अहिलेसम्म ४ सय २७ जनाको जीवनलिला समाप्त भएको छ ।

गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दाबढी सङ्क्रमित फेला परिरहेका छन्।

मन्त्रालयले आइतवार थप १ हजार ३ सय २५ सङ्क्रमित फेला परेका र १० जनाको मृत्यु भएको जनाएको थियो।

यसरी बढिरहेको छ सङ्क्रमण. नेपालमा कोरोनाभाइरस. .
गत शुक्रवार एकै दिन २ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। भदौ २९ गते सोमवार एकै दिन १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो।

अहिले देशभरि १७ हजार ६ सय ११ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ८ हजार ९ सय २१ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।

कोरोनाभाइरस
सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी वाग्मती प्रदेशका जिल्लामा छन्।

त्यसमा पनि काठमाडौं उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

को हुन् सङ्क्रमित ?

अहिले फेला परेका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

तीमध्ये एकतिहाइभन्दा बढी अर्थात् ४ सय १८ जना महिला र ७ सय ३६ जना पुरुष छन्।

काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी उपत्यकामा ६ सय ७४ सङ्क्रमित थपिएका हुन्।

त्यसैगरी मोरङमा १ सय ७, सप्तरीमा ४७ र कैलालीमा ३७ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

को हुन् मृतक ?

मृतकमध्ये तीन महिला र १३ पुरुष छन्।

उनीहरूको उमेर १७ वर्षदेखि ८८ वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकाका छ जना, मकवानपुरका दुई जना, बाँकेका दुई जना तथा झापा, सुनसरी, पर्सा चितवन, दोलखा र रूपन्देहीमा एक(एक जनाको विगत २४ घण्टामा कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको विवरण मन्त्रालयले दिएको छ।

के छ अरू तथ्याङ्क ?

विगत २४ घण्टामा ९ हजार ५ सय ३३ वटा नमुनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ।

सो अवधिमा १ हजार ५ जना रोगमुक्त प्रमाणित भए। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ४७ हजार २ सय ३८ जना अर्थात् ७२ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।

गम्भीर लक्षण भएका बिरामीमध्ये १९६ जना सघन उपचारमा र ३१ जना भेन्टिलेटरमा भएको जानकारी मन्त्रालयले दिएको छ।

अहिले देशभरि ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा छन्।(बीबीसी)

Share Now

Leave a comment.