Prakash Adhikari February 12, 2021

 

चेन्नाई(भारत), ३० माघ । यही फेब्रुअरी १८ तारिखमा भारतको चेन्नाईमा आयोजना हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सनमा नेपालबाट सन्दीप लामिछाने छानिएका छन् । सो अक्सनका लागि छनोट भएका २ सय ९२ क्रिकेटरबाट आईपीएलका आठ वटा फ्रेञ्चाइजले आफ्नो रुची अनुसारका खेलाडीहरुलाई न्यूनतम् मूल्य तिर्ने गरी चयन गरेर अनुबन्ध गर्नेछन् ।

आईपीएलले बिहिबार राति प्रेस बिज्ञप्ति जारि गर्दै कुल १ हजार१ सय१४ जनाले अक्सनको लागि नाम दर्ता गरेता पनि अक्सनमा सहभागी हुने आईपीएलका ८ वटा फ़्रेन्चाइजहरुले रुची देखाएका खेलाडीहरुको आधारमा खेलाडी संख्या घटाइएको बताएको छ।

टिमहरुले आफूले भित्र्याउन चाहेका खेलाडीहरुको सुची दिएपछि उनीहरुलाई मात्र अक्सनमा बोली लाग्नेछ।

यस पटकको आईपीएलमा नेपालबाट अक्सनको लागि सन्दीप लामिछाने सहित बिनोद भण्डारी, करन केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेसावकर, अविनाश बोहरा र दिपेन्द्र ऐरीको नाम नेपाल क्रिकेट संघले पठाएको थियो । संक्षिप्त सूचीमा नेपाली खेलाडी सन्दीपको नाम ६१ औं नम्बरमा रहेको छ।

आईपीएलको मिनी अक्सन यही फेब्रुअरी १८ तारिखमा चेन्नाईमा हुने छ । सन्दीपले यो पटक आफ्नो आधारभूत पारिश्रमिक ४० लाख भारतीय रुपैयाँ ( ६४ लाख नेपाली रुपैया) राखेका छन्।


२०१८ मा सन्दीपलाई दिल्लीले बार्षिक २० लाख भा.रु. दिने गरि अक्सनबाटै तीनबर्षको लागि करारमा लिएको थियो । दिल्लीसंग ३ वर्षे अनुबन्ध समाप्त भए पछि दिल्लीले नेपाली स्पिनरलाई फुकुवा गरेको थियो।

एसोसिएट राष्ट्रबाट यो सिजन आईपीएल अक्सनमा स्थान बनाउने सन्दीप तेश्रो क्रिकेटर हुन्। उनीसंगै अमेरिकाका अलि खान युएईका कार्तिक मैयेप्पाले पनि यसपटक स्थान बनाएका छन् ।

आईपीएलद्वारा जारि सुचीमा कूल १० जना खेलाडीको बेस प्राइस सबैभन्दा धेरै २ करोड भारु रहेको छ जसमा भारतका हरभजन सिंह र केदार जाधब रहेका छन् भने विदेशी खेलाडीहरु ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, शाकिब अल हसन, मोइन अलि, स्याम बिलिंग्स, लियाम प्लनकेट, जेसन रोय र मार्क वुड छन्।

१२ जना खेलाडीको बेस प्राइस १.५ करोड भारु रहेको छ। यस्तै ११ जनाको १ करोड भारु, १५ जनाको ७५ लाख भारु, ६५ जनाको ५० लाख भारु रहेको छ।

अक्सनमा कुल ६१ खेलाडीमध्ये २२ जना विदेशी खेलाडीको लागि मात्र ठाउँ खाली रहेको छ। चेन्नाई र हैदरावादसंग सबैभन्दा कम १ स्थान, दिल्ली र कोलकातासंग २ स्थान, राजस्थानसंग ३ स्थान, मुम्बई र बैंगलोरसंग ४ स्थान तथा किंग्स-११ पन्जाबसंग ५ स्थान खालि रहेको छ।

बैंगलोरले सर्वाधिक १३ खेलाडी, पन्जाबले ९ खेलाडी, कोलकाता र राजस्थानले ८ खेलाडी, चेन्नाईले ७ खेलाडी, दिल्लीले ६ खेलाडी तथा हैदरावादले ३ खेलाडी टिममा आवाद्ध गर्न सक्छन्।

अक्सनमा खेलाडी लिनको लागि सबैभन्दा बढी रकम किंग्स ११ पन्जाबसंग रहेको छ जसले ५३.२ करोड भारु खर्च गर्न पाउनेछ। रोयल च्यालेन्जर्स बैंगलोरले ३५.९ करोड भारु, राजस्थान रोयल्सले ३४.८५ करोड भारु, चेन्नाईले २२.९ करोड भारु, दिल्लीसंग १२.९ करोड भारु, हैदरावाद र कोलकाताले १०.७५ करोड भारु खर्च गर्न पाउनेछन्।

Share Now

Leave a comment.