Prakash Adhikari June 21, 2021

काठमाडौं, ७ आषाढ । आगामी १४ औं महाधिवेशनबाट पुनः एकपटक पार्टीको नेतृत्व सम्हाल्न बहालवाला सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिका पदाधिकारीहरुसंग परामर्श चलाईरहेको बेलामा उहाँको उपसभापति तथा हालसम्म उहाँलाई अन्ध समर्थन गर्दै आउनुभएका विमलेन्द्र निधिले आफू सभापतिमा उठेरै छोड्ने प्रविद्धताका साथ तयारी थाल्नुभएको छ ।

गत शनिवार सभापति देउवाको निवासमा पुगेर यसपटक आफू सभापति उठने भएकोले आशिर्वाद लिन र निर्वाचनमा जिताउन सहयोग गरिदिन अनुरोध गर्नुभएका उपसभापति निधिले सोमबार दिउँसो सभापतिका संभाव्य अन्य दुई उम्मेदवारहरु महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आफ्नै निवासमा दिवाभोजको निम्तोसहित बोलाएर छलफल गर्नुभएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका सुपुत्र बिमलेन्द्रले कांग्रेसकै संस्थापक जननायक वी.पी. कोइरालाका कान्छा सुपुत्र डा. शशांक कोइराला र लौहपुरुष तथा प्रजातन्त्रका पिता गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह गर्नुभएको छलफलले नेपाली कांग्रेसका कार्यकर्ताहरुमा नयाँ उत्साह ल्याएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत संघर्ष गर्ने परिवारका दोस्रो पुस्ताका त्रय नेताहरुको वार्ता देशमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण, सिन्धुपाल्चोकलगायत क्षेत्रमा गएको बाढी-पहिरो पीडितलाई राहत र पुनर्स्थापना ,पार्टीको १४ औं महाधिवेशन , पार्टीको नेतृत्व परिवर्तन र आगामी निर्वाचनमार्फत कांग्रेसलाई देशकै सबैभन्दा ठूलो र सरकार सञ्चालन गर्न सक्षम पार्टी बनाउने तथा विघटित प्रतिनिधिसभा पुनस्थापित भएपछि सभापति देउवालाई प्रधानमन्त्री बनाउने विषयमा केन्द्रित भएको बताइन्छ।

उपसभापति निधिले यस पहिले पनि आफू सभापतिमा उठ्ने भएकोले सहयोग गर्न सभापति देउवा,महामन्त्री डा.कोइराला र पूर्वमहामन्त्री सिंहको निवासमा पुगेर अलग अलग भेट गर्नुभएको थियो ।

अहिलेकै क्रियाशील सदस्यताको संरचनामा बहालवाला पार्टी सभापति देउवाले स्वेच्छाले नलड्ने घोषणा नगरेसम्म उहाँलाई पराजित गर्न निकै कठिनाई हुने देखिन्छ ।

सभापति देउवाको निकट मानिनुहुने निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिमा उठ्ने घोषणा गरेर उठ्नुभयो भने पनि प्रथम चरणमा सबैभन्दा बढी मत सभापति देउवाले ने पाउने देखिन्छ ।

सभापति देउवा विरोधी मोर्चामा पनि सभापतिको आकांक्षा पाल्ने नेताहरु थुप्रै हुनुहुन्छ । गत महाधिवेशनमा देउवासंग पराजित हुनुभएका प्रत्याशी तथा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति उठ्ने रहर मारिसक्नुभएको छैन् । यता कोइराला परिवारबाट महामन्त्री डा. शशांक कोइराला र डा.शेखर कोइराला दुवै जना सभापतिमा उठ्ने तयारी गरिरहनुभएको छ । १३ औं महाधिवेशनमा सभापतिको च्याखे दाउ खेलेर वरिष्ठ नेता रामचन्द्र पौडेललाई परास्त गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि सभापतिमा उठ्ने तयारी गरिरहनुभएको छ ।

आफ्नो राजनीतिक अस्तित्वका लागि पनि सभापतिमा उठ्ने स्थितिमा रहनुभएका सभापति देउवा विरोधी खेमाका नेताहरुलाई एक समूहमा आबद्ध राख्न नसक्दा अघिल्लो महाधिवेशन, जसमा स्व. सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाले बनाएको संगठनको जग थियो,त्यसमा समेत जित्न असमर्थ नेताहरु अहिले ६ बर्षसम्म सभापति देउवाले एकलौटी रुपमा तयार पार्नुभएको संगठनमा जित्ने कल्पना गर्नु अतिशयोक्ति हुन जान्छ ।

तर सभापति देउवाका निकटबाटै कैची उमेद्वारहरु निस्किए र विरोधी खेमाका उम्मेद्वारहरु पनि घटन गए भने दोस्रो चरणमा उहाँबाट विच्किएर आफ्नै अलग्गै शक्ति केन्द्र बनाउन अग्रसर नेताहरुले आफूसंग रहेका मत जता घोप्ट्याउन लगाउछन् त्यतै मतसंख्या बढ्न सक्छ । अघिल्लो महाधिवेशनमा तेस्रो धारका च्याँखे उम्मेद्वार कृष्णप्रसाद सिटौलाको जस्तो निर्णायक भूमिकामा देउवा निकटका उम्मेद्वारहरु रहन सक्नुहुनेछ ।

Share Now

Leave a comment.