काठमाडौं, ७ आषाढ । नेपालमा सङ्कलन गरी आनुवंशिक संरचनाको अध्ययन गर्न पठाइएका कोरोनाभाइरसका ४८ वटा नमुनामध्ये ४७ वटामा डेल्टा भेरिअन्ट भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
भारतमा सुरुमा देखा परेको उक्त भेटिअन्टका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन भएको पाइएको मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उक्त उत्परिवर्तन नेपालसहित १० वटा देशमा पुष्टि भएको र त्यसलाई के ४१७ एन नाम दिइएको छ।
स्वरूप परिवर्तन भएर बनेको नयाँ प्रकारलाई एवाई .१ (AY.1) नाम दिइएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा ‘भेरिअन्ट अफ कन्सर्न’का रूपमा अल्फा (बी.१.१.७)(B.1.1.7)र डेल्टा बी.१.६१७.२ (B.1.617.2) भेरिअन्ट तथा भेटिअन्ट अफ इन्ट्रेस्टका रूपमा कापा भेरिअन्ट बी.१.६१७.१(B.1.617.1) पुष्टि भएको छ।
यी तीनैवटा भेरिअन्टहरू उच्च सङ्क्रामक र सबै उमेर समूहमा प्रभाव पार्ने देखिएको मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोनाभाइरस महामारी सुरु भएदेखि ६ लाख ४७ हजारभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।
सरकारी तथ्याङ्कअनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको सङ्ख्या ८ हजार ७ सय नाघेको छ।
नयाँ भेरिअन्ट खतरनाक
जनस्वास्थ्यसम्बन्धी उल्लेख्य समस्या सिर्जना गराउने कोरोनाभाइरसको प्रकारलाई “भेरिअन्ट अफ कन्सर्न” भनिने एवं अन्य प्रकारभन्दा फरक देखिँदा त्यसबारे थप चासोका रूपमा हेर्नुपर्ने भाइरसलाई ‘भेरिअन्ट अफ इन्ट्रेस्ट” का रूपमा बुझ्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताउनुभएको छ।

नेपाल भेरिअन्ट
प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा कोभिड महामारीको दोस्रो लहर डेल्टा भेरिअन्टका कारण देखिएको तर अहिले त्यो घट्दो क्रममा रहे पनि ‘जनस्वास्थ्य मापदण्ड पूरा गर्दै सचेत हुन आवश्यक रहेको’ बताएका छन्।
“वैशाख २६ देखि जेठ २० सम्मका नमुना भएकाले यो भेरिअन्ट हामीसामु अझै छ यसबाट हामी सजग भइरहन आवश्यक छ भन्ने जानकारी दिन खोजिएको हो”, उहाँले भन्नुभयो।
सरकारले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भारतको नयाँ दिल्लीमा रहेको इन्स्टिट्यूट अफ जीनमिक्स एन्ड इन्टिग्रेटिभ बायोलजीमा त्यस्तो पहिचान गर्नका लागि नमुनाहरू पठाएको थियो।
दोस्रो लहरका बीचमा यसअघि गरिएको आनुवंशिक संरचनाको एउटा अध्ययनमा ३६ मध्ये ३५ नमुनामा डेल्टा भेरिअन्ट पाइएको थियो।
तर त्यस बेला के ४१७ एन उत्परिवर्तन भने देखिएको थिएन।
नेपाल भेरिअन्टको चर्चा
यसअघि एउटा ब्रिटिश पत्रिकामा नेपाल भेरिअन्टका रूपमा चर्चा चल्दा नेपालबाट गएका एक यात्रुको विमानस्थल क्वारन्टीनमा सङ्कलित नमुनामा के ४१७ एन उत्परिवर्तन देखिएको वेलकम स्याङ्गर इन्स्टिट्यूटले जनाएको थियो।

कोभिड नेपाल
यो उत्परिवर्तन यसअघि नै बिटा भनिने दक्षिण अफ्रिकामा फैलिएको भेरिअन्ट तथा अन्य भेरिअन्टमा देखा परिसकेको थियो।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्नुहुन्छ, “यो लहर कमजोर भइरहेको ठानेर खुकुलो भइराख्दा नयाँ(नयाँ भाइरस देखा परेका छन् र तिनले नयाँ लहर सिर्जना गर्न सक्छन् भन्ने चेतावनी दिएको छ।”
‘सोही अनुसार सरकारी तयारी र जनमानसमा सजगता अझ केही समय आवश्यक छ भन्ने खतराको घण्टी बजाएको रूपमा यसलाई बुझ्नुपर्छ।’
जुन १५ सम्ममा विश्व स्वास्थ्य सङ्गठनले ब्रिटेन, दक्षिण अफ्रिका, ब्रजिल र भारतमा प्रारम्भिक नमुना सङ्कलन गरिएका भेरिअन्टलाई क्रमशः अल्फा, बिटा, गामा र डेल्टा नाम दिएको छ।
उसले सातवटा भाइरसका उत्परिवर्तित स्वरूपलाई ‘भेरिअन्ट अफ इन्ट्रेस्ट’को समेत औपचारिक वर्गीकरण गरेको छ।
नेपालमा पाइएको कापा भेरिअन्टको प्रारम्भिक नमुना गत वर्ष अक्टोबरमा भारतमा फेला परेको डब्ल्यूएचओको वेबसाइटमा उल्लेख छ।
भारत पठाइएका नमुना जुनसुकै ठाउँ र उमेर समूहका व्यक्ति पर्न सक्नेगरी ‘र्यान्डम स्याम्प्लिङ’ गरेर सङ्कलन गरिएको डा. अधिकारी बताउँनुहुन्छ।
भेरिअन्ट भनेको के हो ?
भाइरसहरूमा निरन्तर उत्परिवर्तन हुन्छ। कुनै उल्लेखनीय उत्परिवर्तन भएमा त्यसलाई नयाँ भेरिअन्ट भनिन्छ।
कुनै पनि उत्परिवर्तनलाई कतिखेर भेरिअन्ट मान्ने भन्नेबारे स्पष्ट वैज्ञानिक अवधारणा छैन। सामान्यतया कुनै उत्परिवर्तन धेरै फैलिएर एउटा फैलिने प्रवृत्ति देखिन थालेपछि भेरिअन्ट भनिन्छ।
कुनै उत्परिवर्तन वा भेरिअन्ट पहिलेको भन्दा थप सङ्क्रामक भयो वा मानिसहरूलाई बढी बिरामी बनायो वा खोप प्रतिरोधी देखियो भने त्यसलाई ‘भेरिअन्ट अफ कन्सर्न’ को सूचीमा राखिन्छ।
अहिलेसम्म नेपालमा देखिएको वा अन्यत्र देखिएको थप उत्परिवर्तनलाई त्यस्तो सूचीमा राखिएको छैन।
पब्लिक हेल्थ इङ्गल्यान्डले यसलाई ‘अध्ययनमा रहेको चुच्चो उत्परिवर्तन’ भने पनि भेरिअन्ट भनेको छैन।(बीबीसीबाट)


















