Prakash Adhikari December 27, 2021

काठमाडौं, १२ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले यही पौष २५ गतेदेखि भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ।

नेपाली कांग्रेसको महाधिवेशनपछि पार्टीभित्र तीनचौथाईभन्दा बढीको शक्ति आर्जन गरेर बलियो प्रधानमन्त्रीको रुपमा उहाँ भारतभ्रमण जान लाग्नुभएको हो ।

नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भएपछि मात्र भारत भ्रमणमा जाने निश्चय गर्नुभएका प्रधानमन्त्री देउवाको यो भ्रमण ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा संबोधन र सहभागिताका कारण छिटो हुन लागेको हो ।

भारतमा बढ्दै गएको ओमिक्रोन कोरोना भाइरसको कारण प्रधानमन्त्रीको भ्रमणदलमा सदस्यहरुको संख्या सानो हुने बताइन्छ ।

परराष्ट्रले भ्रमण दलको प्रतिनिधि मण्डल २० देखि २५ जनामा सीमित गर्न चाहेको छ । तर निजी क्षेत्रको पनि सहभागिता गराउदा त्यो जम्बो नै बन्नसक्ने जोखिम पनि उत्तिकै छ ।

२५ पौषमा दिल्ली प्रस्थान गर्नुहुने प्रधानमन्त्री देउवाले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने तयारी छ।

त्यही दिन भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमणलाई औपचारिक बनाउने गृहकार्य भइरहेको छ।

एक दिने दिल्ली बसाइपछि देउवा पुस २६ गते प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरात पुग्नुहुनेछ।

प्रधानमन्त्री देउवाले गुजरातको गान्धीनगरमा आयोजना हुन लागेको दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागिता जनाउदै संबोधन गर्नुहुने छ ।

देउवाले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भ्रमणको तयारी गर्न निर्देशन दिइसक्नुभएको छ।

गुजरात राज्य सरकारले आयोजना गर्ने उक्त ग्लोबल समिटको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट हुने कार्यक्रम छ ।

पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको उक्त समिटमा नेपाल, श्रीलंका लगायत विश्वका विभिन्न मुलुकलाई साझेदार मुलुकका रुपमा आमन्त्रण गरिएको छ।

मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००३ मा उक्त समिटको अवधारणा अघि सारिएको थियो। हरेक दुई वर्षमा यो समिट हुँदै आएको छ। यसपाली समिटको नारा ‘आत्मनिर्भर गुजरातदेखि आत्मनिर्भर भारत’ दिइएको छ।

समिटमा विश्वका आर्थिक क्षेत्रका प्रभावशाली व्यक्ति, लगानीकर्ता र राजनीतिक व्यक्तित्व गरी १३५ देशका ४० हजार पाहुना सहभागी हुने अनुमान छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पाचौं कार्यकालको यो पहिलो भारत भ्रमण हो ।आषाढ २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका देउवा यस अगाडि बेलायतको स्कटल्याण्डमा भएको विश्व जलवायु सम्मेलनमा सहभागी हुनुभएको थियो।

स्कटल्याण्ड भ्रमणका क्रममा उहाँले साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि वार्ता गर्नुभएको थियो ।

 

 

 

Share Now

Leave a comment.