Prakash Adhikari January 25, 2022

 

काठमाडौं, ११ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले बन्द प्रशिक्षणमा व्यस्त छ । नेपाली राष्ट्रिय टिम ओमानमा फेब्रुअरी १७ तारिख देखि सुरु हुने आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायरको तयारीमा प्रशिक्षणमा रहेको हो ।

टी २० विश्वकप क्वालिफायर प्रतियोगिताको मुखैमा नेपाली टोलीले ओमानमा नै चार टिम सहभागी चतुष्कोणीय टी २० सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघले शनिवार घोषणा गरेको सिरिजको तालिका अनुसार नेपालले टेस्ट राष्ट्र आयरल्याण्ड, ओमान र युएईसंग सिरिज खेल्नेछ। यी सबै चार देश विश्वकप ग्लोबल छनोटमा सहभागी हुँदैछन्।

सिरिजमा सहभागी हुन नेपाली टिम फेब्रुअरी ९ तारिखमा ओमान पुग्नेछ।

सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ११ तारिखमा आयोजक ओमानसंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी १२ तारिखमा युएईसंग तथा तेश्रो खेल फेब्रुअरी १४ तारिखमा आयरल्याण्डसंग खेल्नेछ।

सिरिजमा सहभागिता पछि नेपालले फेब्रुअरी १७ देखि २४ सम्म ग्लोबल क्वालिफायर ‘ए’ खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक ओमान, आयरल्याण्ड, जर्मनी, फिलिपिन्स, युएई, बहराईन, क्यानडा प्रतिस्पर्धा गर्दैछन्।

ग्लोबल छनोट (ए)मा सहभागी ८ टोलिलाई दुई समुहमा विभाजन गरिएको छ। नेपालको समुहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। अर्को समुहमा युएई, बहराइन, आयरल्याण्ड र जर्मनी छन्। समुह चरणमा सबै टिमले एकअर्कासंग एकरएक खेल खेलेपछि समुहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्।

दुईवटा सेमीफाइनलको विजेता टिम फाइनल पुग्नेछन् र टी २० विश्वकप २०२२ को लागि समेत छनोट हुनेछन्।

टी२० विश्वकप ग्लोबल क्वालिफायरको लागि नेपालले क्याप्टेन सन्दीप लामिछानेको नेतृत्वमा कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, आरिफ शेख, कुशल मल्ल, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम, करन केसी, अविनाश बोहरा, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र शाहब आलम रहेको टिम घोषणा गरिसकेको छ ।

Share Now

Leave a comment.