Prakash Adhikari January 25, 2022

 

वाशिंडटन डीसी(संयुक्त राज्य अमेरिका), ११ माघ(बीबीसी) । युक्रेनमाथि रुसले हमला गर्नसक्ने चिन्तामाझ करिब साढे ८ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको पेन्टागनले बताएको छ।

रुसले भने युक्रेनमाथि हमला गरेर कब्जा गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ।

पछिल्ला महिनाहरूमा रुसले युक्रेन नजिक ठूलो सङ्ख्यामा सैनिकहरूको उपस्थिति बढाएपछि त्यहाँ जुनसुकै बेला युद्ध हुनसक्ने चिन्ताहरू व्यक्त भइरहेका छन्।

युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले सोमवार आफ्ना युरोपेली साझेदारसँग भिडियो कलमार्फत कुराकानी गर्नुभएको छ।

उनीहरूले रुसविरुद्ध सामूहिक रणनीति अपनाउनेबारे छलफल गरेको बताइएको छ।

पेन्टागनले सैनिकहरू तयारी अवस्थामा रहेका भए तापनि उनीहरूको तैनाथीबारे हालसम्म निर्णय भइनसकेको जनाएको छ।

पेन्टानगनका प्रवक्ता जोन कर्बीले यदि नेटोले ुर्‍यापिड एक्सन फोर्सुलाई परिचालन गर्ने वा रुसी सैनिकहरूको उपस्थिति रहेको क्षेत्रमा कुनै नयाँ अवस्था उत्पन्न भएमा मात्र तयारी अवस्थामा रहेका सैनिकहरू त्यस क्षेत्रमा पठाइने जानकारी दिनुभएको छ।

उहाँले युक्रेनमै अमेरिकी सैनिकहरू तैथान गर्ने कुनै योजना नभएको बताउनुभएको छ।

युक्रेनी सैनिक

युक्रेनी सैनिक

नेटोका केही सदस्य राष्ट्रहरू डेनमार्क, स्पेन, फ्रान्स र द नेदरल्यान्डस्‌ले पूर्वी युरोपमा सुरक्षा बढाउनका लागि युद्धपोत र लडाकु जहाज पठाउनेबारे विचार गरिरहेको यसअघि नै बताइसकेका छन्।

नेटोका महासचिव जेनेरल येन्स स्टोल्टेन्सबर्गले युक्रेनमा हमला गरिए रुसले त्यसको महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ।

मस्कोले चाहिँ युक्रेनमा हमला गरेर कब्जा गर्ने आफ्नो मनसाय नरहेको बताउँदै आएको छ।

अमेरिकी विदेश मन्त्रालयले सोमवार युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई उक्त देश छाड्न आदेश दिएको थियो।

Share Now

Leave a comment.