काठमाडौं, ११ माघ । निर्वाचन आयोगले भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको जनाएको छ। राष्ट्रिय सभामा पदावधि सकिन लागेका १७ सिटका लागि भोलि(१२ माघ)मा निर्वाचन हँदैछ।
मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय सभामा १९ सांसदको आगामी फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनुअघि नै निर्वाचन हुन लागेको हो।
बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। मतदानका लागि आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको छ।
सातवटा प्रदेशमा गरेर २ हजार २५ जना मतदाता छन्। चुनावमा ५ सय ३२ जना प्रदेश सभा सदस्य र १ हजार ४ सय ९३ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। रिक्त हुने १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।
सत्ता गठबन्धनमा रहेका पाँच दलले संयुक्त रुपमा उम्मेदवारी दिएका छन्। उनीहरूले पद बाँडफाँड गरेर उम्मेदवारी दिएका हुन्।
संसदको प्रमुख प्रतिपक्षी दल एमालेले भने मधेस प्रदेश वाहेकका सबै प्रदेशमा आफ्नो एकल उम्मेदवारी दर्ता गराएको छ। मधेस प्रदेशमा भने एमाले महन्थ ठाकुर नेतृत्वको लोसपासँग तालमेल गरेर उम्मेदवारी दिएको छ।


















