काठमाडौं, ११ माघ । राष्ट्रिय सभाको निर्वाचनको मुखैमा नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको खोइरो खनेको छ ।
अहिले सर्वाधिक बहसमा आएको स्थानीय तहको निर्वाचनलाई लिएर पार्टीभित्रको संस्थापन विरोधी समूहले सत्तारुढ गठबन्धनविरुद्ध विषवमन नै गरेको छ । भोलि माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य पदका लागि निर्वाचन हुँदैछ ।प्राथमिकताका आधारमा पनि घोषणा नभएको स्थानीय निर्वाचनभन्दा संघारमा आएको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसका नेताहरुको ध्यान हुनुपर्ने हो । तर पार्टीका लोकप्रिय महामन्त्री गगन थापा समेत सामेल भएको सोमबारको गैरसंस्थापन पक्षको भर्चुअल मिटिड.ले आगामी बर्ष हुने निर्वाचन अगावै गठबन्धन टुटाउने अभिव्यक्ति दिएर मुखैमा आएको गठबन्धन अनुकूल निर्वाचनको माहोल बिथोल्न प्रयास गर्यो ।
२०७४ सालको प्रदेश र संघीय प्रतिनिधिसभाको निर्वाचनमा बनेको बृहत् बामपन्थी गठबन्धन र त्यसपछि नेकपा एमाले र माओवादी केन्द्रको बीचमा भएको एकीकरणले झण्डै कम्युनिष्ट राज्यमा रुपान्तरण भैसकेको नेपाल कम्तिमा लोकतान्त्रिक प्रणालीको अभ्यासमा आउने स्थितिमा ल्याउनुमा नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको योगदान रहेको छ ।
संसद विघटन गरेर निर्देशित निर्वाचन गरी कम्युनिष्ट सत्ता स्थापना गर्ने ओलीको महत्वाकांक्षामा लगाम लगाउन निर्मित वर्तमान सत्ता गठबन्धनबाट नेपाली कांग्रेसलाई हालसम्म राजनीतिक हानी भएको छैन ।
संघीय सरकार मात्रै होइन, प्रदेश सरकार पनि एमालेको नियन्त्रणबाट फुत्काउन गठबन्धन सरकार सफल भएको छ । देशभर एमाले विरोधी र लोकतान्त्रिक गठबन्धन अनुकूल समीकरण बनेको छ । भोलि हुने राष्ट्रिय सभाको निर्वाचनमा कायम भएको गठबन्धनले एमाललेलाई संसदभित्र अरु कमजोर गर्नेछ ।
तर कम्युनिष्ट राज्यमा रुपान्तरण हुनबाट रोक्ने काम भैरहेको बेला कांग्रेसभित्रकै एक समूहले गठबन्धन नै भत्किने खालको अभिव्यक्ति दिएर निर्वाचनको माहोल विथोल्न खोज्नु त्यति शोभनीय देखिदैन ।
स्थानीय निर्वाचनको विषयलाई लिएर १४ औं महाधिवेशनमा सभापतिका उपविजेता डा.शेखर कोइराला समूहले आयोजना गरेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने र स्थानीय निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने निष्कर्ष पनि निकालेको छ। जुन राष्ट्रिय सभाको निर्वाचन पछाडि सार्वजनिक गर्दा पनि फरक पर्दैनथ्यो ।
सोमबारको छलफलमा सहभागी नेताहरुले पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरिरहेको भन्दै आपत्ति पनि जनाएका छन्।
‘सभापतिले पार्टीभित्र छलफल नै नगरी गठबन्धनका नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गरेको, गठबन्धनका नेतासँग एक्लै एक्लै भेटेर आफूअनुकुल कुरा गरेको, पार्टीको केन्द्रीय समितिको बैठकमा निर्वाचनको विषयमा छलफल नगरेकोमा पनि कोइराला समूहले सभापति तथा प्रधानमन्त्री देउवाको आलोचना गरेको थियो ।
‘सभापतिले पेलेर जाने देखियो यो स्वीकार गर्न सकिँदैन,’ कोइरालाले भन्नुभयो, ‘स्थानीयको निर्वाचन वैशाखमै गर्नुपर्छ, पार्टीभित्र एकता कायम गरेर एक्लै निर्वाचनमा जानुपर्छ, न्यायालय अनिर्णयको बन्दी बनाएकोमा एक्सन लिएर जान दबाब दिइनेछ।’
डा.कोइरालाले डाकेको भर्चुअल बैठकमा नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, महामन्त्री गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो ।
उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बन्द्री पाण्डे र जीवन परियार राष्ट्रिय सभा चुनावको तयारीका लागि बाहिर रहेकोले छलफलमा सहभागी हुनुहुन्थेन।
लोकतन्त्र संकटमा !
नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोईरालाले प्रचण्ड र माधव नेपालका कारण लोकतन्त्र संकटमा परेको बताउनुभएको छ ।
मंगलबार बिहान एक रेडियो कार्यक्रममा बोल्दै नेता कोईरालाले प्रचण्ड र माधव नेपालले निर्वाचन नै नचाहेको बताउनुभयो ।लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो त्यो नै नचाहनु लोकतन्त्र समाप्त पार्नु हो कोईरालाले भन्नुभयो ।
कांग्रेस नेता डा. कोइरालाले सभापति देउवा गठबन्धनको भारी सँगैलिएरचुनावमा जान खोजिरहेको विषयमा असन्तुष्टि व्यक्त गर्नुभएको छ।
‘आफ्ना केही नजिकका मानिसहरूलाई लिएर उहाँ गठबन्धनको नाममा चुनावमा जाने तयारी गरिरहनुभएको छ, त्यसमा हाम्रो गम्भीर प्रश्न छ,’ कोइरालाले सोमबारको भर्चुअल बैठकमा भन्नुभएको थियो ।
१४ औं महाधिवेशनको क्रममा सभापतिको प्रत्यासी बन्नुभएका डा. कोइरालाले आफू एकपटकका लागि मात्र सभापतिमा उठ्न लागेको र जिते पनि हारे पनि गुटबन्दी नगर्ने पार्टीलाई एकताबद्ध बनाएर लैजान सहयोग गर्ने बताउनुभएको थियो ।तर निर्वाचनमा आफू पराजित हुँदै केन्द्रीय समितिमा झिनो उपस्थितिमा सीमित रहे पनि उहाँले आफ्नो नेतृत्वमा नयाँ गुट सिर्जना गरेर सभापति देउवालाई धम्क्याउन थाल्नुभएको छ ।
यता १४ औं महाधिवेशन पछि पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा सबै तहमा नेपाली काग्रेसलाई जिताउने अवस्था सिर्जना गर्ने वाचा गर्नुभएका कांग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री पनि आफ्नो कोटरीमा रमाउन थाल्नुभएको छ । केन्द्रीय समितिमा ९० प्रतिशत माथि नियन्त्रण गर्ने अवस्थामा रहनुभएका सभापति देउवाको समूहमा नै विभिन्न गुट तथा उपगुट जन्मेका छन् । संस्थापन र इतर दुवैतिर देखिएका गुटउपगुटले आउने चुनावमा कस्तो असर गर्ने हो भन्न नसकिने भएको छ ।


















