कोलम्बो(श्रीलंका), २३ फागुन । विश्वकप क्रिकेट लिग २ को तयारीको लागि श्रीलंकामा अभ्यास खेलका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको छ । तर ५० ओभरको एक दिवसीय खेलमा नेपाली ब्याट्सम्यानहरु टिक्न सकेनन् । उनीहरु पहिले ब्याटिड. गर्दा पनि जम्मा ३७.१ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुगे ।
यसले नेपाली ब्याट्सम्यानले मैदानमा टिकेर रन जोड्ने कला सिक्न बाँकी रहेको संकेत गर्दछ । टी २० विश्वकप क्रिकेटको छनोट खेलको सेमिफाइनलमा युएईसंग छिटो चौका र छक्का हानेर रन जोड्ने कसरत गर्दा अवसर गुमाएको अनुभवलाई नेपाली ब्याट्सम्यानहरुले आत्मसात गर्न बाँकी नै रहेको देखिएको छ ।
आज सम्पन्न नेपाली राष्ट्रिय क्रिकेट टिम र श्रीलंका नेभीको खेलमा टस जितेर ब्याटिड. रोजेको नेपालले दिएको २ सय १५ रनको लक्ष्य ५० ओभरको निर्धारित खेलमा श्रीलंका नेभीले पूरा गर्न सकेन । उसले २८.५ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १ सय ३ रन मात्र जोड्न सक्यो ।
खेलमा श्रीलंकाका लागि श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रन बनाए । एस सन्जिवाले १५ र डी मधुशानले १४ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
श्रीलंकालाई रोक्ने क्रममा नेपालको बलिंगमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनले ७.५ ओभरमा १ मेडन ओभर गर्दै १८ रन खर्चिए।
यस्तै बिक्रम सोब र ज्ञानेन्द्र मल्लले समान दुई दुई विकेट लिए भने करन केसी , कमल सिंह ऐरी र सागर ढकालले समान एक एक विकेट लिए।
खेलमा टस जितेर ब्याटिंग रोजेको नेपालले ३७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय १४ रन बनाएको थियो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ रन जोडे भने आशिफ शेखले ३६, विनोद भण्डारी २२, कुशल भुर्तेल, करण केसी र कमल सिंह ऐरीले समान १६ /१६ रन बनाए ।
नेपालको ब्याटिड.को कमजोर पक्ष श्रीलंकामा पनि उजागर भयो । धेरै नै आशा गरिएका ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भए । ज्ञानेन्द्र मल्ल पनि मैदानमा टिक्न सकेनन् जम्मा २ रनमा पेभिलियन फर्कनु पर्यो । एक दिवसीय खेलमा भरपर्दा अर्का खेलाडी रोहित पौडेल १३ रन बनाएर आउट भए। खेलमा कमल सिंह ऐरीले १५ तथा क्याप्टेन सन्दीप लामिछानेले ११ रन बनाए। सागर ढकालले १३ तथा बिक्रम सोबले अविजित ११ रन बनाए।
श्रीलंका नेभीका लेग स्पिनर अरभिन्दा अकुरुगोडाले सर्वाधिक ४ विकेट तथा ए.अवाद्तले ३ विकेट लिए।
श्रीलंका नेभी श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेल्ने क्लब हो। आजको खेलमा नेपालले आरिफ शेख, भीम शार्की, सोमपाल कामी र पवन सर्राफलाई बाहिर राखेको थियो।
नेपालले भोलि मंगलबार पनि श्रीलंका नेभीसंग अभ्यास खेल खेल्नेछ। त्यसपछि मार्च १० मा श्रीलंका पुलिस तथा मार्च ११ श्रीलंकन प्रथम श्रेणी खेलाडीहरुको टिमसंग खेल्ने तालिका छ।
श्रीलंका भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।
विश्व कप लिग २ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २ । २ वटा खेल खेल्नेछ।
नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ मा युएईसंग, तेश्रो खेल मार्च २१ मा युएईसंग तथा चौंथो खेल मार्च २२ मा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।
नेपाली राष्ट्रिय टिमका खेलाडीहरुको बलिड. पक्ष सन्तोषजनक रहे पनि बलिया टिमका सामु ब्याटिड. कमजोर देखिदै आएको छ । ५० ओभरको खेलमा राम्रा लड. सट खेलेर पहिल्यै थाक्नुभन्दा रन जोड्न मैदानमा टिक्ने कला सिक्नु आवश्यक हुन्छ । बलरहरु थाक्दै गएपछि राम्रा अवसरहरु सिर्जना हुन्छन् ।


















