काठमाडौं , १ चैत। यू -१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण मंगलबार (आज)देखि भारतको जम्सेदपुरमा सुरु हुँदैछ ।
आजको उद्घाटन खेलमा नेपाली चेलीहरुले र आयोजक भारतका चेलीहरुसंग प्रतिस्पर्धा गर्नेछन् ।
यस पटकको संस्करणमा नेपाल, भारत र बंगलादेश गरी तीन देशले भाग लिएका छन् ।
चैत १० गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुनेछ । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
प्रिती राईको कप्तानीमा रहेको नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ ।
उमेर समूहको महिला फुटबलको विकासका लागि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले सन् २०१८ देखि यो प्रतियोगिता आयोजना गर्न थालेको हो ।
२०१८ मा भुटानमा आयोजना भएको पहिलो संस्करणको खेलमा नेपालले भारतलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो ।
सेमिफाइनलमा बंगलादेशसँग पराजित भएपछि, नेपाल उपाधि जित्नबाट चुकेको थियो ।
दोस्रो पटक बंगलादेशमा आयोजना भएको प्रतियोगितामा भने नेपालले भारत र बंगलादेश दुवै टोलीसँग पराजित हुन पुगेको थियो ।
पहिलो संस्करणमा नेपालले भारतलाई पेनाल्टीमार्फत जित निकालेको थियो । खेल १ । १ गोलको बराबरीमा सकिएपछि पेनाल्टीमा नेपाल १ का विरुद्ध ३ ले विजयी रहृयो ।
दुई संस्करणको विजेता बंगलादेशसँग भने नेपालले चैत ३ गते प्रतिस्पर्धा गर्ने भएको छ ।


















