Prakash Adhikari March 24, 2022

 

दमौली(तनहुँ), १० चैत्र । तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ ।

तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

शाहमाथि नाबालिग बलात्कारको अभियोग लागेको छ । तत्काल प्राप्त प्रमाणबाट आरोपी शाह कसूरदार देखिएको भन्दै अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।

अदालतको आदेशबाटै पललाई जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

मतियारका रुपमा मुद्दा दायर गरिएका पल शाहका म्यानेजर कृष्ण जोशीसँग भने १ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

नाबालिकाविरुद्ध बलात्कारको उजुरी परेपछि शाहले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

पटक पटकको म्याद थप गरेर अनुसन्धानपछि चैत ८ गते उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

नाबालिग किशोरीले जबरजस्ती करणीको आरोप लगाउँदै उनीविरुद्ध फागुन ११ गते जाहेरी दिएकी थिइन् ।

तनहुँको शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँमा शाहविरुद्ध उजुरी दर्ता भएको थियो ।

शाहले गैडाकोटमा पनि उनै नाबालिका उपर करणी गरेकोले उनीविरुद्ध सोही प्रकृतिको मुद्दा दायर गरिएको छ ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ ।

१६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै नाबालिकाले बुधबार कार्यालयमा उपस्थित भएर शाहविरुद्ध जाहेरी दिएकी थिइन ।

उनका अभिभावकले पनि शाहविरुद्ध जाहेरी दिएका थिए ।

आदेश हेर्नुहोस्ः



 

Share Now

Leave a comment.