
हरारे(जिम्बाबे), ३ चैत्र । आईसीसी बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा हुने भएको छ ।
अफगानिस्तानसंग पराजित भएकोले सुपर सिक्स चरण पुग्न असफल भएपछि नेपाल सातौं स्थान सुरक्षित गर्न प्र्रयासरत छ । समूह चरणमा बी टीममा रहेको नेपालले समूह एमा रहेको पपुवा न्यु गिनीलाई प्ले अफमा पराजित गरेको थियो । सातौँ स्थान हाँसिल गर्न नेपालले समूह चरणमा अर्को टीममा रहेको नेदरल्याण्डलाई पराजित गर्नुपर्नेछ।
आजको खेलमा पराजित हुने आठौ स्थानमा पुग्ने छ भने दुवै समूहको पुछारमा रहेका पपुवा न्यु गिनी र हंगकंग भने नवौं र दशौ स्थानको लागि खेल्नेछन्।
नेपाल र नेदरल्याण्ड दुवैले ४ बर्षको लागि एकदिवसीय मान्यता पाइसके पनि दुवै बीचको खेल लिस्ट ‘ए’ नै हुनेछ।
छनौट प्रतियोगिता पछि मात्रै दुवै देशको खेलले एकदिवसीय मान्यता पाउनेछन्।
ऐतिहासिक एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालको लागि नेदरल्याण्डसंंगको खेल प्रतिष्ठाको विषय हुनेछ।
२०१५ देखि १७ सम्म चलेको बिश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेता टिम नेदरल्याण्ड बिरुद्ध जित हाँसिल गर्दै वरियतामा प्रतियोगिताको सातौँ स्थान पनि ओगट्ने लक्ष्य हुनेछ।
प्रतियोगितामा यस अघिका कुनै पनि खेलहरुमा मौका नपाएका खेलाडीहरु शक्ति गौचन र ललित सिंह भण्डारी जस्ता खेलाडीहरुले अन्तिम खेलमा मौका पाउने सम्भावना रहेको छ। अर्का बायाँ हाते स्पिनर ललित राजवंशीले लगातार खेल खेल्दा भेट्रान स्पिनर शक्ति गौचनले हालसम्म अन्तिम ११ मा मौका पाएका छैनन्।
नेदरल्याण्डले प्लेअफमा हंगकंगलाई ४४ रनले पराजित गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको थियो।
त्यस अघि समुह ‘ए’ मा रहेको नेदरल्याण्डले आयरल्याण्ड, युएई र वेस्ट इन्डिजसंग हार बेहोरेपछि सुपर सिक्स पुग्न असफल भएको थियो। नेदरल्याण्डले पपुवा न्यु गिनीसंग मात्र जित हात पार्न सकेको थियो ।
प्रतियोगितामा नेपाल समुह चरणमा जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसंग पराजित भएको थियो भने हंगकंगलाई पराजित गरेपनि सुपर अफगानिस्तानसंग नेट रन रेटमा पछि पर्दै सुपर सिक्स पुग्न असफल भएको थियो। त्यसपछि प्लेअफ खेलमा नेपालले पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गरेको थियो।
नेदरल्याण्डसंग नेपालको अन्तिम भेट बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा भएको थियो। २०१६ अगस्टमा नेदरल्याण्डमा सम्पन्न २ वटा खेलमा दुवै टिमले १/१ खेल जितेका थिए ।
त्यसभन्दा अघि बिश्व क्रिकेट लिग डिभिजन(२ २०१५ मा नामिबियामा भएको भेटमा नेपालले नेदरल्याण्डलाई २ विकेटले पराजित गरेको थियो।
सन् २०१४ को न्युजिल्याण्ड बिश्वकप छनौटमा पहिलो पटक ५० ओभर फर्म्याटमा दुइ टिम भेट हुँदा सातौँ स्थानको लागि प्ले-अफ सेमीफाइनल खेलेका थिए।
उक्त खेल नेदरल्याण्डले ७ विकेटले जितेको थियो।