
सेन्टपिट्सवर्ग(रुस),३ चैत्र(बीबीसी)। पूर्व रुसी गुप्तचरमाथि भएको हमलालाई लिएर तनाव चुलिरहँदा रुसले २३ ब्रिटिश कूटनीतिज्ञलाई निष्कासन गर्ने भएको छ।
रुसी विदेश मन्त्रालयले मस्कोस्थित ब्रिटेनको दूतावासका कूटनीतिक कर्मचारीलाई ‘पर्सना नन ग्राटा’ अर्थात् आफ्नो मुलुकमा प्रवेश गर्न वा रहन प्रतिबन्धित विदेशी व्यक्तिका रुपमा घोषणा गरिएको जनाएको छ।
उसका अनुसार उनीहरूलाई एक साताभित्र निष्कासन गरिनेछ।
आरोप
मार्च ४ मा पूर्व रुसी गुप्तचरमाथि भएको हमलामा रुस संलग्न रहेको ब्रिटिश सरकारले आरोप लगाएको छ।
त्यसपछि ब्रिटेनले २३ रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको थियो।
त्यसकै प्रतिक्रियास्वरुप रुसले पछिल्लो कदम चालेको हो।
फिर्ता
रुसी विदेश मन्त्रालयको वक्तव्यमा रुसस्थित ब्रिटिश काउन्सिल पनि बन्द गरिने उल्लेख गरिएको छ।
यस्तै सेन्ट पिटर्सवर्गमा महावाणिज्य दूतावास खोल्न ब्रिटेनलाई दिइएको अनुमति पनि फिर्ता लिइएको छ।
सेर्गेइ र छोरी युलिया स्क्रिपाल विरामी
ब्रिटेनका लागि जासुसी गरेको आरोपमा रुसमा लामो समय जेल परेका एक रुसी नागरिक नाम नखुलेको पदार्थका कारण ब्रिटेनमा गम्भीर विरामी परेका छन्।
६६ वर्षीय सेर्गेइ स्क्रिपाललाई सन् २०१० मा रूस र अमेरिकाबीच जासुसी गरेको आरोप लागेपछि ब्रिटेनमा शरण दिइएको थियो।
स्क्रिपाल र ३३ वर्षीय महिला आइतवार सोल्सबरीस्थित किनमेल केन्द्रको एउटा बेन्चमा अचेत अवस्थामा भेटिएका थिए।
प्रहरीको सावधानीपछि सोलोजबरीको एउटा रेस्टुरेन्ट बन्द भएको छ।
अनुसन्धान
ती जासुस जुन पदार्थले गम्भीर विरामी भए त्यो के हो भन्ने पहिचान भएको छैन।
तर ब्रिटेनको जनस्वास्थ्य संस्थाले त्यसले सर्वसाधारणको स्वास्थमा कुनै खतरा नगर्ने जनाएको छ।
विल्टशायरको प्रहरीले उक्त घटनालाई महत्वपूर्ण भनि व्याख्या गरेको छ र थुप्रै संस्थाहरूले त्यसबारे अनुसन्धान गरिरहेका छन्।
प्रहरीले त्यो जोडीले कुनै अपराध गरेको छ कि भनेर पनि अनुसन्धान गरिरहेको छ।
उपचार
किनमेल केन्द्रमा फेला परेको त्यो जोडीमा देखिने कुनै चोटहरू नभएको बताइएको छ।
प्रहरीले यसलाई आतंकवादी घटना नभएको भने पनि त्यसबारे पनि अनुसन्धान भने जारी रहेको जनाएको छ।
युरोपमा भूमिगत रहेका रूसी जासुसहरूको पहिचान ब्रिटेनको गुप्तचर सेवा एमआइसिक्सलाई उपलब्ध गराएको अभियोगमा उनलाई दोषी ठहराइएको थियो।
पछि सन् २०१० मा उनलाई ब्रिटेनमा शरण दिइएको हो।
उनी र उनीसँगै अचेत अवस्थामा फेला परेकी महिलालाई सोल्सबरीस्थित अस्पतालको सघन कक्षमा उपचार गराइएको छ।