काठमाडौं, १८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादको विषयमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
गृहमन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाण्डू हुँदै प्रहरी परिसर पुगेको उक्त उजुरी प्राप्त भएसँगै अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले पुष्टि गर्नुभएको छ।
अन्य फौजदारी मुद्दा आकर्षित हुने विषयमा जस्तै यसमा पनि अनुसन्धानका क्रममा विभिन्न निकायको परामर्श लिइने उहाँले बताउनुभयो।
अबको प्रक्रिया के हुन्छ भन्ने बीबीसीको प्रश्नमा एसपी मैनालीले भन्नुभयो, “उजुरीसहितको पत्र आएपछि अनुसन्धानका क्रममा हामी अब विभिन्न निकायमा यसबारे पत्राचार गर्छौँ। सरकारी वकिलहरूको पनि राय परामर्श लिएर प्रक्रिया अगाडि बढ्छ।”
चितवन क्षेत्र नम्बर दुईबाट ठूलो मतअन्तर सहित निर्वाचित भइसकेका लामिछानेविरुद्ध चुनाव सकिएको पर्सीपल्ट मंसिर ६ गते गृह मन्त्रालयमा छानबिन गरी कानुन अनुसार कारबाही गर्न माग गर्दै उजुरी पेश भएको थियो।
युवराज सफलले दिएको उक्त उजुरीमा लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः लिएको नदेखिएको र पहिलाकै नागरिकता देखाएर दल दर्ता गरेर निर्वाचन आयोगलाई समेत गुमराहमा राखेको आरोप छ।
उक्त उजुरीमा लामिछानेलाई तत्काल पक्राउ गरी कानुन अनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको छ।
उजुरी परेकोबारे आफूहरूले सञ्चारमाध्यमबाट थाहा पाए पनि औपचारिक पत्र प्राप्त नगरिसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बीबीसीलाई बताउनुभएको छ।
उहाँले भन्नुभयो, “रवि लामिछाने नेपाली हो वा होइन भन्नेमा त दुईमत छैन। खाली प्राविधिक विषय मिलेको छ कि छैन भन्नेमात्रै विषय रहेकोले त्यो प्राविधिक पक्षबारे वकिलसँग छलफल गरेर अगाडि बढ्छौँ।”
चार वर्षअगाडि नै गृहमन्त्रालयमा लामिछानेको नागरिकताबारे जानकारी गराएपछि अध्यागमन विभाग, प्रेस काउन्सिल लगायत विभिन्न निकायलाई यसको जानकारी रहेको तर कसैले पनि यसबारे विगतमा कुरा नउठाएको उहाँले बताउनुभयो।
“कुनै प्राविधिक विषय थाहा नपाउँदाखेरि दोषी भयो भने समग्र राज्य प्रणालीलाई थाहा नहुनु पनि दोष भयो कि भएन भन्ने तरिकाले पनि यो विषयलाई हेर्न सकिन्छ,” ढकालले भन्नुभयो।
प्रहरी छानबिनको दायरामा पुगेको उक्त विषय नागरिकता ऐन २०६३ सँग सम्बन्धित रहेको देखिएकोले त्यसै अनुसार सरकारी वकिलको कार्यालयले प्रहरीलाई राय दिने महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बीबीसीलाई बताउनुभयो।
उहाँले भन्नुभयो, “प्रमाणहरू के छन्, नेपालको नागरिकता हुँदाहुँदै अमेरिकाको नागरिकता लिएको, अमेरिकाको नागरिकता परित्यागबारे सूचना दिएको नदिएको, गृहमन्त्रालयले त्यसबारे निर्णय गरेरनगरेको विभिन्न विषय अध्ययन हुन्छ।”
कुनै पनि व्यक्ति नेपाली नागरिक हो कि होइन वा विदेशी नागरिक हो कि होइन भन्ने विवाद तोकिएको अधिकारीले निर्णय गर्नुपर्छ।
रवि लामिछानेको हकमा प्रहरीको अनुसन्धानले त्यो पाटो हेर्नुपर्ने सहन्यायाधिवक्ता रेग्मीले बताउनुभयो।
“उहाँले अमेरिकाको नागरिकता परित्याग गरेको हो भने मैले त्यागेँ भनेर समयमा नेपालको निकायलाई जानकारी दिनुभएको छरछैन भन्ने कुरा पनि छानबिनको विषय हुनसक्छ,” उहाँले भन्नुभयो।
“अहिले नै यो विषयमा मुद्दा नै पर्छ भन्नु चाहिँ निकै चाँडो हुन्छ। अरु फौजदारी मुद्दामा जस्तै प्रहरीले कारबाही गरेर त्यही प्रक्रिया अवलम्बन गर्ने हो।”
मंसिर ४ गते भएको चुनावअघि नै लामिछानेको नागरिकताको विषय विवादित बनेको थियो।
यसअघि लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै राजकुमार पाण्डेले पनि चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराउनुभएको थियो।
तर आयोगले त्यसबारेमा निर्वाचन परिणाम प्रकाशित भइसकेपछि उम्मेदवारको अयोग्यतासम्बन्धी उजुरीको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जनाएको थियो।
आयोगको यस्तो निर्णय आएपछि लामिछानेविरुद्ध गृहमन्त्रालयमा उजुरी परेको थियो। अहिले प्रहरीले अनुसन्धान गरिरहँदा लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पनि छिट्टै रिट दर्ता गर्ने तयारी रहेको उजुरीकर्ता युवराज सफलले बताउनुभयो।
आफूहरूले अनुसन्धान गरिरहेकै बेला सर्वोच्च अदालतमा रिट दर्ता भए पनि आफ्नो काम त्यसकारण प्रभावित नहुने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी मैनालीले जानकारी दिनुभयो।(बीबीसीबाट)








