काठमाडौं, ८ पौष । नेपालको कारागारबाट रिहा भएका चार्ल्स शोभराजलाई १० वर्ष नेपाल फर्कन नपाउनेगरी शुक्रवार फ्रान्स पठाइएको छ ।
अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले भन्नुभएको छ, “नेपाल सरकारको निर्णयअनुसार उनलाई १० वर्ष नेपालमा आउन नपाउनेगरी निष्कासन गरिएको छ। उनलाई आजै नेपालबाट पठाइसकिएको छ।”
शोभराजलाई साँझ ६ बजे दोहातर्फ पठाइएको बताइएको छ। दोहाबाट शनिवार प्यारिस पुग्ने ठानिएको छ।
यद्यपि अध्यागमन अधिकारीहरूले शोभराजलाई कुन उडानबाट कहाँ हुँदै पठाइएको हो भन्ने खुलाएका छैनन्।
काठमाडौंस्थित फ्रेन्च दूतावासले शोभराजको यात्राका लागि आवश्यक ‘ट्राभल डकुमेन्ट’ जारी गरिदिएपछि शुक्रवार स्वदेश पठाइएको अध्यागमन विभागले जनाएको छ।
सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या र फर्जी राहदानी प्रयोग गरेको अभियोगमा शोभराजलाई छुट्टाछुट्टै मुद्दा चलाइएको थियो। सबैमा चाल्र्स शोभराज दोषी देखिए।
हत्याको अपराधमा शोभराजलाई सर्वस्वसहित जन्मकैद सुनाइएको थियो।
पन्चानब्बे प्रतिशत कैद भुक्तान गरिसकेका र मुटुको बिरामी भएको भन्दै बुधवार सर्वोच्च अदालतले शोभराजलाई रिहा गरेर १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो।

सर्वोच्च अदालतले शोभराजलाई कैदमुक्त गर्न र उनलाई स्वदेश फिर्ता गर्ने व्यवस्था मिलाउन आदेश दिएको थियो
किन १० वर्षको प्रतिबन्ध ?
१९ वर्ष तीन महिनापछि सुन्धारास्थित केन्द्रीय कारागारबाट शोभराज रिहा भएका हुन्।
ूहामीले उहाँलाई अध्यागमन विभाग पठाएका छौँ। अबलाई आफ्नो देश फिर्ता पठाउने प्रक्रिया अध्यागमनले नै अघि बढाउँछ,ू केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले शुक्रवार दिउँसो भन्नुभयो।
अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी कमलप्रसाद पाण्डेका अनुसार शोभराजले आफू सञ्चारमाध्यममा नदेखिने र प्रतिक्रिया नदिने बताएका थिए।
शोभराजलाई कारागारभित्रैबाट गाडीमा राखेर कालिकास्थानस्थित अध्यागमन विभाग लगिएको थियो।
बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने फ्रान्सेली नागरिक शोभराजलाई रिहा गरेर १५ दिनभित्र स्वदेश फर्काउन बुधवार सर्वोच्च अदालतले आदेश दिएको थियो।
यसअघि अध्यागमन विभागका सूचना अधिकारी पाण्डेले शोभराजलाई स्वदेश फर्काउनुअघि नियन्त्रणमै राख्ने वा निगरानीमा मात्रै राख्नेबारे टुङ्गो लाग्न बाँकी रहेको बताउनुभएको थियो।
“हामी छिटोभन्दा छिटो उहाँलाई जुन देशको पासपोर्ट छ त्यो देशमा पठाउँछौँ। त्यस अवधिमा नियन्त्रणमै राख्ने वा नियन्त्रणमा राख्ने भन्ने निर्णय भइसकेको छैन,” उहाँले भन्नुभएको थियो।

शोभराजलाई किन बिकिनी किलर भनिन्छ ?
शोभराजलाई बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट उपनामले पनप चिनिने गरिएको छ।
भेष बदलेर भाग्ने र पक्राउ पर्नबाट बच्ने शैलीका कारण शोभराजलाई ुद सर्पेन्टु उपनाम दिइएको थियो।
बीबीसी र नेटफ्लिक्सले सन् २०२१ मा एउटा शृङ्खला सार्वजनिक गरेपछि शोभराजलाई धेरैले द सर्पेन्ट उपनामले चिने।
एकपछि अर्को हत्यामा संलग्न भएका कारण उनलाई सीरिअल किलर पनि भनियो।
प्रायः युवतीहरूलाई निसाना बनाउने गरेका शोभराजले हत्या गरेको थाहा भएको पहिली महिलाको शव बिकिनी लगाएको अवस्थामा फेला परेका कारण उनलाई बिकिनी किलर भनिएको बताइन्छ।
कसरी रिहा भए शोभराज ?
हाल ७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको आदेशमा भनिएको छ।
स्वास्थ्यमा समस्या आएपछि शोभराजको सन् २०१७ मा गङ्गालाल हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया गरिएको थियो।
कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ।
नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटकपटक निवेदन दिएका थिए।
सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेशमा “निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड र संविधान, कानुन प्रदत्त अधिकारअनुकूल नदेखिएको” भन्दै रिहा गर्न भनेको थियो।
शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको करिब आधा समय जेलमा बिताएका छन्।
नेपाल आउनुअघि सन् १९९७ सम्म उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए।

चार्ल्स शोभराजका वकिल गोपाल शिवाकोटीले बिहीवार साँझ केन्द्रीय कारागारबाहिर पत्रकारहरूलाई शोभराजको रिहाइबारे बताउनुभएको थियो
शोभराजको पक्राउ
शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ।
ती घटनाहरू सन् १९७२ देखि १९८२ सम्म भएका थिए। हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाइएको बताइन्छ।
तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको र नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको बताइन्छ।
नेपालमा हत्या गरेको अदालतले ठहर गरेको भए पनि शोभराजले आफूलाई झुटा प्रमाणका आधारमा फसाइएको र आफूमाथि अन्याय भएको दाबी गर्दै आएका छन्।
सन् १९७५ मा नेपाल आउँदा उनले डच नागरिक हेन्क बिटान्जाको राहदानी प्रयोग गरेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार ती व्यक्तिलाई शोभराजले थाईल्यान्डमा हत्या गरेर उनको नाम आफूले प्रयोग गरेका थिए।
तर शोभराजले सबै आरोप अस्वीकार गर्दै आएका छन्। उनले आफूलाई झुटा प्रमाणका आधारमा फसाइएको र दोषी ठहर गरेको दाबी गर्दै संयुक्त राष्ट्रसङ्घलाई पनि गुहारेका थिए।

चर्चामा आइरहन्थे शोभराज
जेलमा हुँदा पनि उनी बारम्बार चर्चामा आइरहे। जेलमा हुँदै उनले निहिता विश्वास नामक नेपाली युवतीसँग बिहे गरेको चर्चा पनि चल्यो।
गत वर्ष उनले जेलभित्रबाटै विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएपछि विवाद उत्पन्न भएको थियो।
फ्रान्सका पर्यटकहरूलाई विष दिएको अभियोगमा दोषी ठहर भएपछि सन् १९७६ मा शोभराजलाई भारतमा २१ वर्षको जेल सजाय सुनाइएको थियो।
तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए। जेलबाट भागे पनि प्रहरीले उनलाई पुनः पक्राउ गर्यो।
सन् २०२० मा बीबीसी र नेटफ्लिक्सले उनीबारे ‘द सर्पेन्ट’ नामक शृङ्खला बनाएको थियो।
भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत चकित बनाउन वा प्रभावमा पार्न पोख्त मानिने शोभराज पछिल्लो समय ुसज्जन, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिलेु जस्तो व्यवहार गर्ने गरेको कारागारमा खटिएका अधिकारीहरूले बताएका थिए।
सन् १९९७ मा भारतबाट रिहा भएपछि उनी प्यारिस फर्किएका थिए। त्यहाँ उनी पैसा लिएर सञ्चारमाध्यमलाई आफ्नो अन्तर्वार्ता दिन्थे।(बीबीसीबाट)


















