Prakash Adhikari December 23, 2022

काठमाडौं, ८ पौष । चीनमा कोभिड १९ को नयाँ लहर फैलाउने ओमिक्रोनको सबभेटिअन्ट बीएफ.७ भारतमा पनि देखा परेपछि नेपालमा समेत ‘जोखिम उत्पन्न भएको’ भन्दै सरकारले सजग गराएको छ।

भारतले कोरोनाभाइरसका नयाँ सङ्क्रमितहरूबाट सबै नमुनाको जीनम सीक्वन्सिङ गर्न निर्देशन दिएको छ। भारतमा क्रिस्मस र नयाँ वर्षका बेला सङ्क्रमण फैलिन सक्ने भन्दै केन्द्रीय सरकारले राज्य सरकारहरूलाई कोभिड नियन्त्रण गर्न उपयुक्त कदम चाल्न निर्देशन दिएको छ।

नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले यतिखेर आफ्नो जोड कोभिडको बूस्टर अर्थात् अतिरिक्त मात्र लिने मानिसको सङ्ख्या बढाउनेमा रहेको  बताउनुभएको छ ।

“पूर्ण मात्रा लिनेको सङ्ख्या कुल जनसङ्ख्यामा ८२ प्रतिशत जति हुनु नेपालको राम्रो पक्ष हो। तर बूस्टर खोप भने कम छ, ३८ प्रतिशत जतिले मात्र लिएका छन्”, मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर भन्नुहुन्छ, “बूस्टर डोज नलिँदा जोखिम बढ्ने सम्भावना हुन्छ। पूर्ण मात्रा खोप लिनेहरूमा १२ देखि १८ महिना एन्टिबडी (रोगप्रतिरोध क्षमता प्रदान गर्ने तत्त्व( कायम रहने भनिँदै आएको छ।”

चीनमा कोभिड सङ्क्रमण बढेसँगै भारतमा थप सतर्कता

सरकारको कोभिड खोप कार्यक्रम कायमै रहेको बताउँदै उहाँले जनस्तरबाट हुने मागका आधारमा आवश्यक खोपको आपूर्ति बढाउँदै लगिने बताउनुभएको छ।

यद्यपि पछिल्लो समय खोप लिने क्रम निकै सुस्त देखिएको उहाँ बताउनुहुन्छ।

नेपालमा बीएफ.७ ‘भेटिएको छैन’

कोभिड खोप
विगत एक महिनामा देशभरिबाट सङ्कलन गरिएका कोभिड सङ्क्रमितका जीन सीक्वन्सिङ गर्दा नेपालमा भने चीनमा धेरै फैलिएको सबभेरिअन्ट बीएफ.७ पुष्टि नभएको मन्त्रालयले जनाएको छ।

प्रवक्ता डा. ठाकुर ‘चिन्तित हुनुपर्ने नभई पूर्वसावधानीका पुरानै उपायहरू पालना गर्नुपर्ने’ बताउँनुहुन्छ।

“जुनसुकै फरक स्वरूपमा आए पनि कोभिड सर्ने तरिका र यसका लक्षण धेरैजसो एकै हुन्, बच्ने तरिकाहरू समेत एकै हुन्”, डा ठाकुर भन्नुहुन्छ. “अहिले गर्ने सबैभन्दा महत्त्वपूर्ण भनेको बूस्टर खोप लगाउनु, सामाजिक दूरी, निस्सङ्क्रमणका उपाय अपनाउनु नै हो। बूस्टर लगाएको पनि धेरै समय भएको भए मास्क नछुटाउनु राम्रो हुन्छ।”

बूस्टर खोप लगाउनेको सङ्ख्या ‘७० देखि ८० प्रतिशत पुर्‍याउन सक्दाको अवस्था’ सहज हुने भन्दै उहाँले आफूहरूले त्यसतर्फ सोचिरहेको दाबी गर्नुभयो।

नेपालमा पुस ८ को नयाँ तथ्याङ्कअनुसार केवल १५ जनामा सक्रिय कोभिड छ।

बिहीवार मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार २४ घण्टाको अवधिमा झन्डै १ हजार २ सय जनाको कोभिड परीक्षण भएको थियो।

तीमध्ये केवल एक जनामा मात्र सङ्क्रमण पुष्टि भएको थियो।

अन्यत्र कस्तो चासो र सतर्कता
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुखले चीनमा विकसित भइरहेको अवस्थाप्रति आफ्नो ‘उच्च चासो’ रहेको बताउनुभएको छ।

डा. टेड्रोस एड्हानोम गेब्रेयससले कोभिडबाट मुक्त हुने रणनीति भनेको ‘खोप मात्र हुने’ बताउनुभएको छ।

नेपालको दक्षिणी छिमेकी भारतमा समेत बिहीवारको एउटा बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले राज्य सरकारहरूलाई अक्सिजनका सिलिन्डर र भेन्टिलेटरसहितका अस्पतालका पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ।

उहाँले आत्तिनुपर्ने कुनै कारण नभएको भन्दै सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गर्नुभएको छ।

भारतमा गुजरात तीनवटा र उडिसामा एउटा नमुनामा बीएफ.७ नामको ओमिक्रोन सबभेरिअन्ट जुलाई र नोभेम्बरको बीचमा देखा परेको थियो।

ती सबै सङ्क्रमितहरू भाइरसमुक्त भइसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।(बीबीसीबाट)

Share Now

Leave a comment.