Prakash Adhikari March 12, 2023

काठमाडौं, २८ फागुन। २०५२ सालदेखि भएको तथाकथित जनयुद्ध, संघर्ष र आन्दोलनका नाममा हत्या र हिंसासंग जोडिएका माओवादी पार्टीका विभिन्न घटकले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दैछन्।

सशस्त्र युद्धकालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रकियाबाट सम्बोधन गर्न थालेकोको आपत्ति जनाएको माओवादी घटकले आज अपरान्ह २ बजे प्रज्ञा भवन कमलादीमा संयुक्त पत्रकार सम्मेलन गरेर आफनो धारणा सार्वजनिक गर्न लागेका छन्।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरु सो पत्रकार सम्मेलनमा उपस्थित रहनुहुनेछ।

सर्वोच्च अदालतले नियमित प्रक्रियावाट मुद्धा सम्वोधन गर्न थालेपछि सो कार्य विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत भएको भन्दै माओवादी घटकहरुले त्यसको प्रतिवाद गर्ने धारणा सार्बजिनक गरिसकेका छन्।

माओवादीले सो असहमति जनाए पनि शुक्रबार सर्वोच्च अदालतले भने माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी पाउँ भन्दै परेको रिटलाई अग्राधिकार दिइ १५ दिनभित्र अदालतमा उपस्थित हुन वा वारेसमार्फत जवाफ दिन कारण देखाऊ आदेश दिइसकेको छ।

यसअघि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले कात्तिक २५ गते सिधै सर्वोच्चको इजलासमा निवेदन दिएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले सर्वोच्च अदालत प्रशासनलाई प्रचण्डको अभिव्यक्तिविरुद्ध पेश भएको रिट दर्ता गर्न आदेश दिएको थियो । त्यसपछि माओवादी वृतमा त्रासको वातावरण छाएको छ।

माओवादी अध्यक्ष प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा ‘म तथ्यांकमात्रै सच्याउन चाहन्छु, मलाई १७ हजार मान्छे मारेर आएको भन्ने गरिएको छ, यो सत्य होइन। सत्य के हो, मलाई भन्न दिनुस्। हिजोका सामन्ती राजा र शासकहरूले १२ हजार मान्छे मारेका हुन्। मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने लिन्छु।’

तीन वर्ष अघिको सो अभिब्यक्तिलाई लिएर माओवादी पीडितसमेत रहेका अधिवक्ता आनन्द आरणलगायतले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। जुन मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिइसकेको छ।

Share Now

Leave a comment.