Prakash Adhikari March 12, 2023

काठमाडौं, २८ फागुन । चीनले आफ्ना नागरिकको लागि खुल्ला गरेको दोस्रो चरणको गन्तब्य सूचीमा नेपाललाई पनि समावेश गरेको छ । मार्च १५ गतेदेखि खुला गरिएको उक्त सूचीमा नेपाल सहित ४० देश संलग्न छन् ।

चीनले खुला गरेको पछिल्लो सूचीमा नेपालसहित बु्रनाई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, नामिबिया, मौरिसस, जिम्बावे, युगान्डा, जाम्बिया, सेनेगल, कजाकिस्तान, उज्वेकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, सर्बिया, क्रोयसिया, फ्रान्स, ग्रिस, स्पेन, आइसल्यान्ड, अल्बानिया,

इटाली, डेनमार्क, पोर्चुगल, स्लोभेनिया, भनाटउ, टोंगा, सामोआ, ब्राजिल, चिली, उरुग्वे, पनामा, डोमिनिका, एल साल्भाडोरद, बहामास रहेका छन् ।

चैत्र १ गते अर्थात मार्च १५ देखि लागू हुने गरी चिनियाँ सरकारले एकल र समूहगतरुपमा नेपालसहित ४० वटा देश घुम्न पाउने गरी दोस्रो सूची सार्वजनिक गरेको हो ।

चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालको लागि सि जिनफिङ निर्वाचित भएपछि चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले यो सूचना जारी गरेको हो ।

कोरोना महामारी फैलिएपछि चीनले सन् २०२० को जनवरीदेखि आफ्ना नागरिकलाई विदेश भ्रमण गर्न रोक लगाएको थियो ।

यसअघि पहिलो चरणमा चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले फेब्रुअरी ६ देखि यात्रा गर्न अनुमति दिइएका २० मुलुकको नाम सार्वजनिक गरेको थियो ।

मन्त्रालयले जारी गरेको सूचना अनुसार ट्राभल एजेन्सीहरूलाई थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, संयुक्त अरब इमिरेट्स, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस, स्विजरल्याण्ड, हंगेरी, न्यूजिल्याण्ड, फिजी, क्युबा र अर्जेन्टिनामा चिनियाँलाई समूहमा यात्रा गर्न अनुमति दिएको थियो ।

हाल नेपाल चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले काठमाडौँबाट कुनमिङमा हप्तामा दुइ र राजधानी बेइजिङमा एक उडान गरिरहेको छ । त्यसैगरी एअर चाइनाले चेन्दु–काठमाडौँ रूटमा हप्तामा दुइ उडान गरिरहेको छ । त्यसैगरी साउदर्न एअरले हप्तामा एक पटक काठमाडौँ–ग्वान्झाउमा उडान गरिरहेको छ । चिनियाँ पर्यटकको लागि खुल्ला गरिएसँग नेपाल र चीनबीचको हवाइ सम्पर्क पनि विस्तार हुने नेपालका पर्यटन व्यवसायीको अनुमान छ ।

Share Now

Leave a comment.