कीर्तिपुर(काठमाडौं), २८ फागुन । नेपालले आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युनाइटेड अरव इमिरेट्स(युएई) माथि १ सय ७७ रनको कीर्तिमानी विजय हासिल गरेको छ । यो जितसंगै नेपालले आगामी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ । यो जितसंगै नेपाल लिगको शीर्ष चारयतमा पुगेको छ । शीर्ष ५ मा रहने टिमको ओडिआई मान्यता रहने भएकोले नेपालको ओडिआई मान्यता जोगिएको छ । तर नेपालसंग पराजित युएईले भने ओडिआई मान्यता बचाउने अवसर गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिड. रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४९.२ ओभरमा २ सय ४८ रन बनाउँदै युएईको लागि २ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर २ सय ९ रनको लक्ष्य लिएको युएईले ५० ओभरको खेल २२.५ ओभरमा ७१ रन जोडेको अवस्थामा अल आउट भयो र नेपाल १ सय ७७ सनको विशाल अन्तरले विजयी बन्यो ।
आजको खेलमा युएईको ब्याटिड. नेपालको भन्दा पनि खत्तम तरिकाले धराशायी भयो । खेलमा युएईका आयन अफजल खानले २९, अस्वस्थाबल थापाले १४, कार्थिक मैयाप्पननले ११, आशिफ खान र रोहन मुस्तफाले ६ । ६, जवार फरिदले २, मोहमम्द वाशिम र जुनैद सिद्धकीले १ । १ रनको योगदान दिए ।
युएईलाई रोक्नेक्रममा नेपालका ललितनारायण राजवंशीले ७.५ ओभरमा २ मेडनसहित २० रन खर्चेर ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । राजवंशीको ५ विकेट करिअरको उत्कृष्ट प्रदर्शन हो । उनी नेपालबाट पाँच विकेट लिने सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीपछि चौथो बलर बनेका छन् ।
कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ५० ओभरको निर्धारित खेलमा ४९.२ ओभरमा २ सय ४८ रन बनाउँदा अलआउट भयो।
आजको खेलमाा नेपालका शीर्षक्रमका व्याट्सम्यानको प्रदर्शन सोचे अनुरुप हुन सकेन । शुरुका ७.१ ओभरमा नै नेपाल ३ विकेट गुमाएर २२ रनको अवस्थामा थियो।
चौथो विकेटका लागि कप्तान रोहित पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए। ३७ बलमा चार चौका हान्दै भिम २९ रनमा क्याच आउट भए।यूएईका रोहन मुस्तफाले २१.६ ओभरमा भीमलाई मइयाप्पनको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए।
पाँचौ विकेटका लागि कप्तान रोहित र आरिफ शेखले ८६ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलतर्फ अघि बढेको थियो।
कप्तान रोहित ३७.३ ओभरमा १ सय १२ बलमा ९ चौका हान्दै ७७ रन बनाउँदा क्याच आउट हुन पुगे। रोहितले ८३ बलमा ७ चौका हान्दै आफ्नो करियरको आठौ अर्धशतक पूरा गरेका थिए।
आरिफ शेख ४३ रन बनाउँदा क्याच आउट भए। लामो सट खेल्ने धुनमा रहेका अरिफले ५२ बलमा ५ चौका हानेका थिए।
सातौँ विकेटका लागि गुलसन झा र दिपेन्द्रसिंह ऐरीले ४८ रनको साझेदारी गरे। ३२ बलमा १ चौका र ३ छक्का हानेका गुलसन झा ३७ रन बनाउँदा जाहोर खानको बलमा बोल्ड आउट भए।
गुलशन झा आउट भए लगत्तै पूर्वकप्तान सन्दीप लामिछाने २ रन बनाएको अवस्थामा आउट भए।
खेलमा दिपेन्द्रसिंह ऐरी ३४ रन बनाउँदा बोल्ड आउट भए। उनले १९ बलमा ३ चौका र २ छक्का हाने। खेलमा सोमपाल कामी २ रनमा आउट रहे। ललित राजवंशी शुन्य रनमा नटआउट रहे।
आजको खेलमा ओपनर कुशल भुर्तेल ८ रन बनाउदा एलबीडब्लु धरापमा परे भने आशिफ शेख शुन्य रनमा आउट भए। कुशल मल्ल ९ रनमा क्याच आउट भए।
नेपाललाई रोक्ने क्रममा युएईका लागि आयान अफ्जल खान, रोहन मुस्तफा, जवार फरिद र जाहुर खानले समान २ विकेट झारे। आर्यन लाक्रा, जुनैद सिद्दिकीले एक एक विकेट लिएका थिए ।
नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का बनेको छ । नेपालले बाँकी दुवै खेल जितेको खण्डमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । एक खेलमा पराजित भएमा भने नेपालले प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
नेपालले सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । यो हारसँगै युएईले सोझै ओडिआई मान्यता प्राप्त गर्ने अवसर गुमाएको छ । युएई अव प्लेअफमा शीर्ष चारमा पर्न सकेमात्रै आगमी चार वर्षको लागि ओडिआई मान्यता प्राप्त गर्नेछ ।
अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ।
नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ


















