काठमाडौं, २८ फागुन । उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ।
चैत ३ गते हुने निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयले चार जनाको नामावली सार्वजनिक गरेको हो।
नेकपा एमालेबाट अष्ट लक्ष्मी शाक्य, जनता समाजवादी पार्टी (जसपा)बाट प्रमिला कुमारी यादव, रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झाको नाम सार्वजनिक भएको हो।
राष्ट्रपति खस(आर्य समुदायका पुरूष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्ने विवाद आएपछि जसपाले दुई जनाको उम्मेदवारी दिएको थियो।
यसो हुँदा सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले पनि ममता झालाई उम्मेदवार उठाएको हो। रामसहायप्रसाद यादवको उम्मेदवारी परेपछि अष्टलक्ष्मी र ममताले उहाँविरूद्ध उजुरी दिनुभएको थियो।
तर निर्वाचन अधिकृतको कार्यालयले संविधानको व्यवस्थाअनुसार उहाँको उम्मेदवारी खारेज गर्नुनपर्ने भन्दै उम्मेदवारी कायम नै राखेको छ।
शाक्य आदिवासी जनजाति समुदायकी हुनुहुन्छ भने अन्य तीन जना मधेशी समुदायबाट ।
जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार फिर्ता नगर्ने जनाइसकेको छ।
सत्ता गठबन्धनले भने साझा उम्मेदवार बनाउनेबारे छलफल गरिरहेको छ।



















