Prakash Adhikari March 27, 2023

काठमाडौं, १३ चैत्र । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा सहायता स्वरुप १५ अर्ब ८४ करोड रकम सहयोग गर्ने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशकको बोर्डले गत शुक्रबार नेपालको शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमको कार्यान्वयनमा सहयोग स्वरुप १५ अर्ब ८४ करोढ ४५ लाख ३६ हजार (१२० मिलियन अमेरिकी डलर) अनुदान स्वीकृत गरेको हो । नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको कार्यान्वयनमा सहयोग स्वरुप यो अनुदान स्वीकृत भएको हो ।

विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम नेपाल सरकारको विगतका विद्यालय शिक्षा क्षेत्रका कार्यक्रमहरुमा आधारित छ । स्थानीय सरकारस्तरबाट शिक्षक निर्देशन प्रणाली स्थापना गरि विषयगत शिक्षकहरु सुनिश्चित गर्ने र गुणस्तरीय शिक्षामा बढि ध्यान केन्द्रित गर्ने यो कार्यक्रमको लक्ष्य छ ।

‘गुणस्तरीय शिक्षामा लगानी भनेको मानव पुँजीको विकासका लागि महत्वपूर्ण हो, जुन बृहत्तर प्रतिफल र आर्थिक बृद्धि सुनिश्चित गर्नेका लागि आवश्यक हुन्छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले भन्नुभएको छ, ‘यो कार्यक्रमले नयाँ संघीय राज्यको महत्वकांक्षा पूरा गर्न शिक्षाको गुणस्तर र समतामुलक पहुँच बढाउने नेपाल सरकारको प्रयासलाई सहयोग पुर्याउनेछ ।’

यो कार्यक्रमले आधारभूत सिपको विकास गर्दै देशभरमै राष्ट्रिय एकीकृत पाठ्यक्रमलाई लागु गर्नमा केन्द्रित गर्ने बताइएको छ । कोभिड १९ र अन्य विविध कारणले विद्यालय बन्द हुँदा अध्ययन तथा सिकाईमा भएको क्षतिलाई कम गर्दै यो अनुदान मार्फत सरकारको कार्यक्रमलाई सहयोग गर्ने र शिक्षा क्षेत्रलाई पुर्नउत्थान तथा तीव्र गतिमा सिकाईलाई अघि बढाउने लक्ष्य लिइएको विश्व बैंकले जनाएको छ ।

वातावरणमैत्री तथा शान्त कक्षा, आधुनिक पठनपाठनलाई विकास गर्ने तथा आवश्यक सरसामग्री उपलब्ध गराउनेजस्ता कुराहरु यो कार्यक्रमअन्तर्गत रहेका छन् । विश्व बैंकको यो कदमले शिक्षा क्षेत्रमा छोरीहरु, अपांग बालबालिका तथा सामाजिक र आर्थिक रुपमा कमजोर समुदायको सहभागितामासमतामुलक अवस्था सिर्जना गर्ने र कक्षा ६ देखि कक्षा ८ सम्म पछि परेका समुदाय वा विद्यार्थीलाई छात्रबृद्धि प्रदान गर्नेजस्ता कार्यक्रममा सहायता पुग्ने लक्ष्य राखिएको छ ।

Share Now

Leave a comment.