गान्तोक(सिक्किम,भारत), २२ चैत्र । सिक्किममा हिमपहिरो जाँदा ३ नेपालीसहित ७ जनाको मृत्यु भएको छ।
सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने (उमेर नखुलेको) र आशिका ढकाल(२२) छन्। यस्तै रूपन्देहीकी मुना शाह श्रेष्ठ(२९) को हिमपहिरोमा परी मृत्यु भएको छ। उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए।
यसैगरी मृत्यु हुनेमा अन्य चार भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, शौरभ रोय चौधरी र पृतम माटे रहेका छन्।
मंगलबार स्थानीय समयअनुसार दिउँसो १२ः१५ बजे गान्तोक नाथुला पास जोड्ने जवाहरलाल नेहरू सडकमा गएको पहिरोमा १३ जना घाइते भएका छन्।
२० देखि ३० वटा पर्यटक हिउँमुनि फसेको अनुमान गरिएको छ। सिक्किम सेनाले विज्ञप्ति जारी गर्दै १४ जनाको उद्वार गरिएकोमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ।
घाइते तीन नेपाली ज्योति गुरुङ, गीता सापकोटा र रमेश खनालको उपचार भइरहेको छ।


















