Prakash Adhikari April 5, 2023

काठमाडौं, २२ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठले आफ्नो टिमको औपचारिक रुपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक गर्नुभएको छ ।

बुधबार नागपोखरीस्थित होटल अरण्यमा वाचापत्र सार्वजनिक गर्दै श्रेष्ठले जीवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठले स्थानीय उत्पादनको प्रवर्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।

उहाँले नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउन व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

महासंघलाई नयाँ उचाइमा पुर्याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफ्नो बाचापत्रलाई आधार मानेर काम गर्ने उहाँले बताउनुभयो ।

आफ्नो टिमले सहभावना र सहकार्यको मूल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योगी व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता समेत उहाँले गर्नुृभयो ।

श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोही अनुसार सहकार्य गरिएको बताउनुभयो ।

श्रेष्ठ समूहले वस्तुगत समूह र जिल्ला नगरतर्फका प्यानल सदस्यहरुले समेत औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेको छ ।

Share Now

Leave a comment.