काठमाडौं, ७ आषाढ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन्।
इन्धनको भाउ सस्तिएपछि हवाई सरचार्ज घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पारित गरेको नयाँ मूल्य अन्तर्गत काठमाडौंबाट हुने हवाई सरचार्ज अधिकतम ४४५ रुपैयाँले घटेको छ।
काठमाडौंबाट सबैभन्दा टाढाको आन्तरिक गन्तव्य धनगढीतर्फको हवाई सरचार्ज ४४५ रुपैयाँले घटेको हो। यसैगरी सबैभन्दा नजिकको काठमाडौं-सिमरा ९० रुपैया र काठमाडौं-भरतपुरतर्फको सरचार्ज ११० रुपैयाँले घटेको छ।
प्राधिकरणले दुर्गम क्षेत्रको भाडा दर पनि घटाएको छ।
यसअघि प्रतिलिटर १६० रुपैयाँ रहेको हवाई इन्धन १० रुपैयाँले घटेर १५० रुपैयाँ कायम भएपछि इन्धन सरचार्ज घटेको हो।
बुद्ध, यती, सौर्य, श्री, गुण, सीता, तारा, समिट लगायत वायुसेवा कमपनीले विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएका छन्।




















