Prakash Adhikari October 12, 2023

काठमाडौं, २५ असोज । अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले आज बृहत् आर्थिक बहस कार्यक्रम आयोजना गर्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत संबोधन गर्ने बृहत् आर्थिक बहस कार्यक्रममा आर्थिक क्रियाकलापमा संलग्न रहेका निजी क्षेत्रका सबै संघसंस्थाका प्रतिनिधिहरु र नेपालको आर्थिक विकासमा संलग्न सरकारी निकायका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।

कार्यक्रम बिहीबार बिहान ९ बजेदेखि राजधानीको र्‍याडिसन होटलमा आयोजना हुने छ ।

‘अर्थतन्त्र गम्भीर समस्यामा छ, यो समस्याबाट उन्मुक्ति मिल्नेगरी हामीले बिहीबार प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय आर्थिक बहसको आयोजना गरेका छौं,’ अध्यक्ष ढकालले सञ्चारकर्मीहरुको जिज्ञासामा बताउनुभएको छ, ‘सरकारका तर्फबाट अहिलेको समस्या समाधान गर्ने केही विशेष घोषणा हुने हाम्रो अपेक्षा छ ।’

महासंघले आयोजना गर्ने उक्त आर्थिक बहसमा प्रधानमन्त्री, मुख्यसचिव, अर्थ मन्त्रालय र राष्ट्र बैंक, उद्योगमन्त्री, वाणिज्य तथा आपूर्तिमन्त्री, राष्ट्रिय योजना आयोग र अन्य सरोकारवाला सरकारी निकायका अधिकारीहरुको उपस्थिति हुनेछ ।

त्यसैगरी, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शको पनि उपस्थिति रहनेछ । कार्यक्रममा अर्थशास्त्री प्रा. डा. अच्यूत वाग्लेले कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

‘अर्थतन्त्र गम्भीर संकटमा पुगेको छ, हामीले प्रधानमन्त्री तथा सरकारबाट अहिलेको समस्या सम्बोधन गर्ने विशेष घोषणा हुने अपेक्षासहित यो वृहत् आर्थिक बहसको आयोजना गरेका हौं,’ महासंघ अध्यक्ष ढकालले भन्नुभएको छ।

 

Share Now

Leave a comment.