Prakash Adhikari October 13, 2023

काठमाडौं, २६ असोज नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन्।

यौनाचारका विषयमा मुद्दा परेर तनावमा रहेका सन्दीपले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन्।

बिहिबार राति उनले सामाजिक सञ्जालबाट यस्तो घोषणा गरेका हुन्। ‘मैले भारी मनका साथ आगामी प्रतियोगिताहरूबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ लामिछानेले लेखेका छन्, ‘म यतिबेला मेरो जीवनकै कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिहरेको छु।’

 

उनले आफूलाई पुनर्जीवन दिन र परिवारलाई समय दिन यस्तो निर्णय गरेको बताएका छन्।

‘अहिलेसम्म पाएका सबै आशिर्वाद र शुभकामनाहरूका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद,’ उनले लेखेका छन्।

लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। मुद्दाको पेसी बिहीबारको लागि तोकिए पनि सुनुवाइ हुन सकेन।

गत वर्षको भदौमा एक किशोरीले आफुमाथि जबरजस्ती करणी भएको भन्दै गौशाला प्रहरी वृत्तमा सन्दीपविरुद्ध जाहेरी दिएपछि सन्दीपको खेल जीवन तनावपूर्ण बन्दै आएको छ ।

नेपालले कार्तिक १ गतेदेखि घरेलु मैदानमा युएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी २० सिरिज खेल्दैछ।

आगामी टी २० विश्वकपको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। सिरिज लगत्तै नेपालले घरेलु मैदानमा नै आइसीसी विश्वकप टी २० छनोट खेल्नेछ।

यी सिरिजमा पनि सन्दीपलाई समेट्दै अन्तिम टोलीको घोषणा भैसकेको छ।

यसअघि पनि मानसिक तनावका कारण १९ औं एसियाली खेलकुद नखेल्ने बताएका सन्दीपले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्काले भेट गरेपछि उनी हाङजाओ प्रस्थान गरेका थिए।

 

Share Now

Leave a comment.