Prakash Adhikari May 2, 2018

विराटनगर(मोरड.),१९ बैशाख । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ६३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

बुधबार मोरङ जिल्ला अदालतको कार्यालयमा सरकारी वकिलको कार्यालयले ७ जना प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो।

६३ जनामध्ये २९ जनालाई घटनाका प्रमाणसहित उपस्थित गराइयो भने घटनाका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेलगायत अन्यलाई फरारको सूचीमा राखिएको छ। जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालका अनुसार घटनामा संलग्नहरुलाई फरकफरक ढंगका मुद्दा हालिएको छ।

बुधबार अदालतमा हाजिर गराइएको सामान बुझ्ने प्रमाण बुझ्ने र मिसल जाँच गर्दा साँझ भएको कारण प्रतिवादीहरुलाई भोलि बिहीबार अदालतमा उपस्थित गराई बयान लिने कार्य सुरु हुने उनले बताए।

सरकारी वकिल पुण्यप्रसाद पाठकका अनुसार सरकारले ‘अपराधिक समूह स्थापना सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा’ नाम दिएर मुद्दा दर्ता गरेको हो।

अभियुक्तमा वहालवाला एसएसपीदेखि पूर्वडीआईजीसम्म मुद्दामा बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध मुद्दा दर्ता भएको छ।

त्यस्तै, एयरलाइन्सका कर्मचारी सम्बीरप्रसाद तोलाङ्गे, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, कपिलराज पुरी, हेमन्त गौतम, पुन्यप्रसाद लामा, एलबी मगर, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु र राजन थापासमेत सोही मुद्दा दर्ता भएको छ। मोहन काफ्ले, नरेन्द्र कार्की, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा पनि पक्राउ परेका छन् ।

पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, भारतीय व्यापारी चाचाजी भन्ने महाविर गोल्याल, मदन घिमिरे, राजेन्द्र शाक्य र राजकुमारलाई समेत सोही मुद्दा लागेको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चुडामणि उप्रेती नेतृत्वको समूहले उर्लाबारीका सनम शाक्यलाई करेण्ट लगाएर फागुन १८ गते हत्या गरेको थियो।

शवलाई गायब बनाउन लैजाँदै गर्दा प्रहरीले विराटनगर–३ बाट फागुन १९ गते शाक्यको शव फेला पारेको थियो।

 

Share Now

Leave a comment.