Prakash Adhikari May 14, 2018

 

पोखरा(कास्की), ३१ वैशाख । गृह मन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र अहिले माफिया, ठेकेदार र तस्करको कब्जामा गएको बताएका छन्।

उनले अर्थतन्त्र स्वस्थ र आत्मनिर्भर बनाउन माफियागिरी, ठेकेदारी र कालो बजारी प्रवृतिको अन्य गर्नुपर्ने बताए।

प्रेस सेन्टर कास्कीले पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले माफिया, ठेकेदार र तस्करबाट उद्योगी र व्यवसायीलाई छुटकारा दिन आवश्यक रहेको बताए। उनले आर्थिक अनियमितता, तस्करी र कालो बजारीले सुशासन, विकास, समृद्धि र शान्ति सुरक्षा कमजोर पारेको बताए।

देशमा मुठीभरको वर्चश्व रहेको भन्दै उनले आर्थिक समृद्धिको बाधक त्यही भएको बताए।

हरेक क्षेत्रको एकाधिकार नतोडी समृद्धि सम्भव नभएको उनको भनाई थियो। ‘सबै क्षेत्रमा एकाधिकार र कालोबजारीया छ,’ थापाले भने, ‘त्यसको अन्त्य बिना देशको विकास सम्भव छैन।’

ृउनले स्थायी सरकार र देश समृद्धिको बाटोमा हिँडिरहेका बेला हिंसा भड्काउने कसैलाई पनि नछोड्ने बताए।

राजनीतिक, जातीय, क्षेत्रिय, धार्मिक आवरणमा हिंसा भड्काउने समूहलाई नियन्त्रण गर्ने, निस्तेज पार्ने उनले बताए। ‘नेपाल बन्दलगायत ध्वंसात्मक काम गर्ने, संविधान र कानुन विपरीत काम काम गर्नेलाई निस्तेज पार्ने कठोर कदम चाल्ने छौ,’ विप्लव माओवादीप्रति संकेत गर्दै उनले भने, ‘कठोरतापूर्वका संविधान र कानुनको दायरामा ल्याउनेछौं।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला उठेको स्वतन्त्र मधेसको ब्यानर देखिएकोप्रति संकेत गर्दै थापाले अलग देश र विखण्डन गर्ने कसैलाई संविधानमा छुट नभएको बताए।

उनले विकास, शान्ति सुरक्षा र महिला सुरक्षामा बाधा पुर्‍याउने गुन्डाको लिस्ट तयार भइरहेको बताए।

उनले सबैखाले सिन्डिकेटको अन्त्य गर्न सरकार लागिपरेको दाबी गरे। यातायात समितिको खातामा रहेको सबै रकम अब सरकारको भएको थापाको भनाई थियो।

उनले सो रकमलाई नीति बनाए बीमा, सुरक्षा र क्षतिपूर्ति दिन प्रयोग गर्ने बताए ।

Share Now

Leave a comment.